मकवानपुर– बागमती प्रदेशको राजधानी हेटौंडामा मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालद्धारा सञ्चालित आइसोलेशन स्थालको शुक्रबार मुख्यमन्त्री डोरमणि पौडेलले निरीक्षण गर्नुभएको छ । सो अवसरमा उहाँले हेटौंडा–६ गौरीटार स्थित आइसोलेसन वार्डमा रहेका कोरोना संक्रमित बिरामीलाई हौसला प्रदान गर्नुका साथै उक्त स्थानमा थप बन्दै गरेको आइसोलेसन वार्डको स्थलगत निरीक्षण गर्नुभएको थियो ।

मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालले हेटौंडा–६ गौरीटारमा १२० बेडको आईसोलेसन सञ्चालन गरिरहेको छ भने सोहि स्थानमा थप एक सय वार्डको आइसोलेसन निर्माण गरिरहेको छ । निरीक्षणका क्रमममा उहाँले बिरामीलाई कुनै पनि कमी हुन नदिन तथा बन्दै गरेको आइसोलेसन वार्डको निर्माण कार्य छिटो सम्पनन गर्न निर्देशन समेत दिनुभयो । निरीक्षणमा मुख्यमन्त्री पौडेलसहित जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, ७ नम्बर वडा अध्यक्ष राजन थापालगायतको सहभागिता थियो ।