मकवानपुर– मकवानपुरमा आजबाट निषेधाज्ञाको स्वरुप परिर्वतन भएसंगै चहलपहल बढेकाे छ । जिल्लाको विभिन्न स्थानीय तहमा जारी निषेधाज्ञाको स्वरुप परिर्वतन गरेर केहि खुकुलो बनाइसंगै चहलपहल बढ्नुका साथै जनताको दैनिकिमा केहि सहजता भएकाे हाे।
सोमबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञालाई भदौ २५ गतेसम्म निरन्तरता दिंदै स्वरुपमा भने परिर्वतन गर्ने निर्णय गरेको थियो । बैठकले बिहान ६ बजेदेखि १० बजेसम्म सबैखाले पसल सञ्चालन गर्न दिने र बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म बैंक तथा वित्तिय संस्थाहरु सञ्चालन हुन दिने निर्णय गरेको हो । तर बैंक तथा वित्तिय संस्था सञ्चालन गर्दा वा पसल व्यवसाय सञ्चालन गर्दा स्वास्थ्य सम्बन्धी मापदण्ड भने अनिवार्य पालना गर्नुपर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिनुभयो । ‘खाद्यान्नलगायतका सामग्री लोड अनलोडको समय बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्मलाई निर्धारण गरिएको छ । बिस्तारै जनजीवनलाई सामान्य बनाउनका लागि आफैं सुरक्षित रहेर व्यापार व्यवसाय सञ्चालन गर्न निषेधाज्ञाको मोडलमा केही परिवर्तन गरेका छौं,’ प्रजिअ नेपालले भन्नुभयो ।
त्यस्तै सम्पुर्ण सार्वजनीक तथा निजि यातायात संचालन हाललाई बन्द रहने तथा सिमा नाकामा थप कडाई गर्ने र स्वास्थ्य सम्बन्धी मापदण्डको पुर्ण पालना गर्न लगाउने निर्णय गरेको उहाँले बताउनुभयो । जिल्लाको हेटौंडा उपमहानगरपालिकासहित विभिन्न स्थानीय तहमा यसअघिदेखि नै निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा जारी भएका स्थानीय तहहरुले जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको निर्णय अनुसार नै अगाडि बढ्ने प्रजिअ नेपालले बताउनुभयो । मकवानपुरमा साउन २६ गतेबाट जारी गरिएको निषेधाज्ञा हालसम्म दुईपटक निषेधाज्ञाको समय थप गरिएको भएपनि मंगलबारबाट भदौ २५ गतेसम्मका लागि निषेधाज्ञाको ढाँचा परिर्वतन गरिएको हो ।
जिल्लामा कोरोना संक्रमितको दर बढिरहेको अवस्थामा जनजीवनलाई सरल बनाउने उदेश्यका साथ निषेधाज्ञाको स्वरुपमा केहि परिर्वतन गरिएकोले सबैले सुरक्षित तवरबाट आआफ्नो काममा जुट्न जरुरी रहेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका सल्लाहाकार एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले बताउनुभयो । उहाँले सधैंभरी निषेधाज्ञा लगाएर बस्न नसकिने र कोरोनाको विकल्प निषेधाज्ञा नै नभएको भन्दै जनताको दैनिकी सहज बनाउन निषेधाज्ञाको स्वरुप परिर्वतन गरिएको बताउनुभयो । उहाँले समुदाय स्तरमै कोरोना भाइरसको सङ्क्रमण देखिन थालेकाले आम जिल्लाबासीमा आवश्यक स्वास्थ्य सर्तकता अपनाउन आव्हान समेत गर्नुभएको छ । उहाँले कोरोना भाइरसको अहिलेसम्म कुनैपनि उपचार बिधि आइनसकेको र थोरै सावधानी अपनाइएमा यस भाइरसको सङ्क्रमणबाट बच्न सकिने हुँदा स्वास्थ्य सम्बन्धी मापदण्ड पुरा गर्दै अनुसाशित भएर कार्यहरू गर्न आग्रह गर्नुभएको छ ।