मकवानपुर– मकवानपुरमा आईतबार स्थानीय तह समन्वय बैठक बसेको छ । जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा बसेको बैठकमा कोरोना नियन्त्रण तथा आगामी रणनितीका साथै जिललामा जारी निषेधाज्ञा सम्बन्धी आगामी योजनाका विषयमा छलफल भएको छ ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकमा स्थानीय तहका प्रमुखहरुले निषेधाज्ञाकै कारण पनि जिल्लामा कोरोना संक्रमण फैलनबाट रोकिएको तर, सधैं निषेधाज्ञा जारी गर्न नहुने भन्दै मापदण्ड बनाएर निषेधाज्ञा खुकुलो बनाउँदै लानुपर्ने, उचित व्यवस्थापनका साथ औधोगीक क्षेत्र सुचारु गर्नुपर्ने, परिक्षणको दायरा बढाउनु पर्ने, रिपोर्ट छिटो आउने वातावरण मिलाउनुपर्ने, व्यवस्थित रुपमा आइसोलेसन संचालन हुनुपर्ने, होल्डिङ स्टेसन अझै केहि दिन सञ्चालन हुनुपर्ने, चेतना अभिबृद्धिका क्षेत्रमा अझै लाग्नु पर्ने सुझाव दिएका छन् ।

बैठकमा स्थानीय तहका प्रमुखहरुले जिल्लामा कोरोना नियन्त्रणकालागि व्यवस्थित संयन्त्र नहुँदा समस्या आएको बताउनुभयो । यस्तै व्यवस्थित आईसोलेसन संचालन हुनु पर्ने, पुर्ण रुपमा निषेधाज्ञा खोल्न नहुने, जिल्लामा सञ्चालित होल्डिङ सेन्टर अझै केहि दिन सञ्चालन गर्नुपर्ने, कोरोनाका सन्दर्भमा प्रदेश र स्थानीय तहबिच समन्वय हुनु पर्ने, सार्वजनकि यातायात र बाहिरी प्रवेश निषेध गरेर मापदण्ड बनाएर निषेधाज्ञा खुकुलो बनाउँदै लानु पर्ने, छिटो रिपोर्ट आउने विधि अपनाउनु पर्ने, बजारमा निषेधाज्ञा हुँदा गाउँमा संक्रमण नियन्त्रण भएको बताएका छन् । यस्तै उहाँहरुले संक्रमणको आंकलन गरेर प्रक्षेपणसहित रोकथाम र नियन्त्रणमा लाग्नु पर्ने तथा सोहि बमोजिम व्यवस्थापनमा लाग्नुपर्ने बताउनुभयो । उहाँहरुले कोरोना नियन्त्रण र रोकथामका लागि स्थानीय तहहरु जस्तोसुकै सहयोग गर्न तयार रहेको समेत बताउनुभएको छ ।
आजको बैठकले जिल्लामा ३ सय वेडको आइसोलेसन सञ्चालनका लागि आवश्यक स्वास्थ्यकर्मी उपलब्ध गराउने, प्रदेश सरकारले नमुना विद्यालय अन्तरगत पठाएका विद्यालय नर्स तथा स्वास्थ्य प्राविधिक उपलब्ध गराउने वा पालिकाबाट समेत उपलब्ध गराउन सकिने निश्कर्ष निकालेको छ । स्थानीय तहहरुका वडाअध्यक्षको संयोजक्तवमा गठीत समितिलाई प्रभावकारी परिचालन गरेर जनचेतना अभिबृद्धिलगायत स्वास्थ्य सम्बन्धी अनुशासन अनिवार्य पालना गर्न लागाउने निर्णय गरेको छ । यस्तै जिल्लाको कोरोना रिपोर्ट एकिकृत रुपमा दिनका लागि जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रणय उपाध्यायले व्यवस्थापन गर्ने निर्याय गर्नुका साथै निजि क्षेत्रका व्यक्तिको स्वाब संकलन र परिक्षणको सहजिकरण जिल्ला स्वास्थ्य कार्यालयले गर्ने समेत निर्णय भएको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख खुलालले जानकारी दिनुभयो ।
बैठकमा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, थाहा नगरपालिकाका मेयर लबशेर बिष्ट, हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना कुमारी लामा, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाई, बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल, कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तान, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, ईन्द्रसरोवर गाउँपालिका अध्यक्ष जीवन लामा, भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, समन्वय अधिकारी आनन्दराज पोखरेल, स्वास्थ्य कार्यालयका प्रमुख प्रणय उपाध्याय, हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेललगायतको सहभागिता थियो ।