काठमाडौं– आर्थिक वर्ष २०७६।७७ को असार मसान्त सम्ममा नेपाल सरकारले आन्तरिक र वाह्य गरी कुल तिर्न बाँकी ऋण रकम १४ खर्ब १९ अर्ब पुगेको छ । नेपाल राष्ट्र बैकले जारी गरेको गत आर्थिक वर्षको आर्थिक अवस्थाको समीक्षा प्रतिवेदनमा नेपालले तिर्नु पर्ने बाह्य ऋण ८०५ अर्ब ८३ करोड रहेको छ भने आन्तरिक ऋण ६१३ अर्ब २१ करोड रहेको उल्लेख छ ।

गत वर्षको ऋणको कुल गाह्स्थ उत्पादनसँगको अनुपात ३७.७ प्रतिशत पुगेको छ । अघिल्लो वर्षमा यस्तो अनुपात ३०.३ प्रतिशत रहेको थियो । गत आर्थिक वर्षमा सरकारले १९४ अर्ब ६४ करोड आन्तरिक ऋण परिचालन गरेको थियो भने ४३ अर्ब ४० करोड सावाँ भुक्तानी गरेको थियो ।

गत आर्थिक वर्षमा सरकारले १६० अर्ब २४ करोड खुद आन्तरिक ऋण परिचालन गरेको थियो भने बाह्य ऋण १६२ अर्ब ५८ करोड परिचालन गरेको थियो । गत वर्षको आन्तरिक कर्जा १३.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो कर्जा २१.१ प्रतिशतले बढेको थियो ।

नेपाल राष्ट्र बैकले २०७७ को असार मसान्त सम्ममा १४०१ अर्ब ८४ करोड रुपैया बराबरको विदेशी विनिमय सञ्चिति रहेको र त्यस्तो सञ्चिति अघिल्लो आर्थिक वर्षको तुलनामा ३४.९ प्रतिशतले वृद्धि भएको जनाएको छ ।