कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि नेपाल सरकारले जारी गरेको “लकडाउन” करीब १२० दिन रह्यो । १२० दिनमा दैनिक ज्यालादारी गरेर गुजारा चलाउनेदेखि धनाढ्य सबैलाई समस्या परेको थियो । तर, कोरोना भने समुदायमा फैलनबाट रोकिएको पनि थियो । जब लकडाउनको अन्त्य भयो अनि व्यक्ति व्यक्ति बीच भौतिक दूरी रहेन, स्वास्थ्य सम्बन्धी मापदण्डको पनि परिपालना भएन । जसको परिणाम स्वरुप अहिले समुदायस्तरमा कोरोना फैलिएको छ ।
कोरोनाको सङ्क्रमण फैलन नदिन सरकारले गएको चैत ११ गते लकडाउन घोषणा गर्यो । त्यतिबेला देशभर दुईजना मात्रै सङ्क्रमित थिए । सुरुमा एक हप्ताको लागि लकडाउन घोषणा गरेको सरकारले पटक–पटक थप्दै १ सय २० दिनसम्म पुर्यायो । त्यतिबेलासम्म सङ्क्रमितको संख्या हजार नाघिसकेको थियो । कोरोना रोकथाम र नियन्त्रणका लागि लकडाउन मात्रै विकल्प होइन भन्ने ठानेर सरकारले दैनिक जीवनयापन सहज बनाउन भन्दै जेठको अन्तिमदेखि लकडाउन खुकुलो बनाउँदै लग्यो । साउनको पहिलो हप्तादेखि त लकडाउन नै सकिएको घोषणा भयो । जब लकडाउन अन्त्यको घोषणा भयो जनतालाई “राजाको राँगो फुके” जस्तो भयो जसको परिणाम अहिले देखिँदै छ ।
लकडाउन अन्त्यको घोषणा भएको एक साता पछिबाट मात्र नेपालमा दैनिक रुपमा सङ्क्रमितको दर बढ्दै गएको हो । लकडाउन अन्त्य भएको घोषणा भएको समयमा सरकारले स्वास्थ्य सम्बन्धी मापदण्डको परिपालना गर्न भने भनेको थियो । सरकारले आमनागरिकलाई साबुनपानीले हात धुन, मास्क लगाउन, भौतिक दूरी कायम गर्न र स्यानिटाइजर प्रयोग गर्न आग्रह गर्दै आएको थियो । तर, त्यस्को बेवास्ता गरेर भिडभाड गर्दा, स्वास्थ्य मापदण्डको परिपालना नहुँदा अहिलेको अवस्था सृजना भएको हो ।
अहिले देशका ४० भन्दा बढी जिल्लामा भएको निषेधाज्ञाले कोरोना भाइरसको बढ्दो सङ्क्रमण रोक्न सकारात्मक काम गरेको छ । निषेधाज्ञाले सकारात्मक प्रभाव पारेकै कारण अहिले सङ्क्रमणको स्थिति केहि कम कम छ, अन्यथा अहिलेको भन्दा दृश्य फरक हुने थियो । निषेधाज्ञाले सङ्क्रमणको ‘चेन’ (चक्र) तोड्न पक्कै सघाएको छ । व्यक्ति व्यक्ति बीचको भौतिक दूरी तोडिएकाले सङ्क्रमण विस्तारको कडी तोडिएको र सोँचे भन्दा कम सङ्क्रमण फैलिएको हो । अहिलेसम्मका घटनाक्रमहरुले सरकारले आफ्नो तर्फबाट कोरोना नियन्त्रणका लागि भरपुर कोशिश गरेको छ । तर, नागरिकको सहयोग नपाउँदा महामारी विरुद्धको लडाइँमा सफलता हात पार्न सकिएको छैन । सरकारलाई एक्लो बनाउने, सहयोग नगर्ने र महामारीका बेला व्यक्तिगत राजनीति गर्ने प्रवृतिका कारण समेत यस्तो समस्या आएको हो ।
सरकारले सबै काम राम्रै ग¥यो पनि भन्दिन केहि ठाउँमा सरकार चुकेको पनि छ । सरकारले लकडाउन हटेको घोषणा गर्दा आइसोलेशन, भेन्टिलेटर, बेड र आवश्यक जनशक्तिको पर्याप्त तयारी गर्न नसक्दा समेत अहिले समस्या आएको हो । तर, अब निषेधाज्ञालाई अवसरका रुपमा प्रयोग गरेर सङ्क्रमण रोकथाम र बिरामीको उपचारका लागि तयारीमा जुट्न जरुरी छ । अब सङ्क्रमण विस्तार रोक्न निषेधाज्ञालाई कडा रुपमा कार्यान्वयन गर्नुपर्छ । निषेधाज्ञामा सङ्क्रमितको निर्बाध ओहोरदोहोर रोकिनुपर्छ । सङ्क्रमितको द्रूतगतिमा पहिचान गरी आइसोलेसनमा राखेर उपचार गरेमा मात्र सङ्क्रमण विस्तारमा कमी आउनेछ । यस्तै बाहिरबाट नेपाल प्रवेश गर्ने जोसुकैलाई १४ दिन क्वारेन्टिनमा राख्नुपर्ने नियमलाई कडाइका साथ लागू गराउन सक्नु पर्छ । परीक्षणका दायरा बढाउनुपर्छ । जहाँ सङ्क्रमण उच्च छ भन्ने थाहा हुन्छ, त्यो सीमित ठाउँलाई सिल गर्ने अथवा कसरी हुन्छ कडाइ गर्नुपर्छ । कुनै सङ्क्रमण नै नभएका अरु ठाउँको जीवनयापन सहज बनाउँदै जानु पर्छ ।
त्यस्तै, सरकारले स्वास्थ्य मापदण्ड पालना नगर्नेमाथि कडा रूपमा प्रस्तुत हुनुपर्छ  । स्वास्थ्य सुरक्षा सतर्कता नअपनाउनेलाई कडा दण्ड र सजाय गर्नुपर्छ भने जनताले पनि स्वास्थ्य सुरक्षा सतर्कता अपनाई सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड पालना गरेमात्रै कोरोनासँग जुध्न सहयोग गर्नुपर्छ । असुरक्षित जीवनशैली र काम गर्ने पद्दतिमा परिवर्तन ल्याउनु पर्छ ।