मकवानपुर– मकवानपुरमा बुधबार थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गएराती मृत्यु भएका एक वृष्द्धसहित १७ जना पुरुष र ६ जना महिलामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।

हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रदेशिक प्रयोगशालाबाट गत साउन ३१ गते संकलन गरिएको स्वाबको आज दिउँसो रिपोर्ट प्राप्त भएको हो । जसमध्ये हेटौंडा उपमहानगरपालिका क्षत्रभित्रका मात्र २० जना र भीमफेदी गाउँपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभयो । आज प्राप्त रिपोर्ट अनुसार हेटौंडा–४ का ७ जना, हेटौंडा– १ का ४ जना, हेटौंडा–३ का ३ जना हेटौंडा–५ का २ जना, हेटौंडा– ९ का २ जना र हेटौंडा–१० र हेटौंडा–७ का एक/एक जनामा कोरोना संक्रमण देखा परेको हो ।

त्यस्तै आजै प्राप्त रिपोर्टमा भीमफेदी गाउँपालिकाका ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको उहाँले बताउनुभयो । एकसय ३५ जनाको स्वाब परीक्षण गर्दा २३ जनामा संक्रमण देखिएको जनाइएको छ । त्यस्तै आइसोलेसनमा उपचाररत ९ जना आजै डिस्चार्ज हुने भएका छन् । कोरोना सङक्रमण पुष्टि भएर आइसोलेसन वार्डमा उपचाररत ९ जना कोरोना सङक्रमणमुक्त भएको रिपोर्टअनुसार आज उनीहरु डिस्चार्ज हुने जनस्वास्थ्य निरीक्षक चौलागाईले बताउनुभयो ।