नेपाल राष्ट्र बैंकले पुनर्कर्जाको लागि बैंक तथा वित्तीय संस्थासँग आवेदन माग गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि एक खर्ब रुपैयाँको पुनर्कर्जा कोष खडा गरेको छ । यही रकम सदुपयोगको लागि कार्यविधि बनाइसकेको राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासँग आवेदन माग गरेको हो । बैंक तथा वित्तीय संस्थाले असोज १४ गतेसम्म राष्ट्र बैंकमा आवेदन दिन सक्नेछन् । 

पुनर्कर्जा कोषमार्फत बैंक तथा वित्तीय संस्थाले कोरोना प्रभावित ऋणीसँग तीनदेखि पाँच प्रतिशतसम्म मात्रै ब्याजदर असुल्न पाउनेछन् । लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जामा राष्ट्र बैंकले दुई प्रतिशत ब्याजदरमा बैंक तथा वित्तीय संस्थालाई कर्जा दिन्छ, बैंक तथा वित्तीय संस्थाले ऋणीबाट बढीमा पाँच प्रतिशत मात्रै ब्याज लिन पाउँछन् । विशेष पुनर्कर्जामा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एक प्रतिशतमा कर्जा दिन्छ, बैंक तथा वित्तीय संस्थाले ऋणीबाट बढीमा तीन प्रतिशत मात्रै ब्याज लिन पाउँछन् । साधारण पुनर्कर्जामा बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट तीन प्रतिशतमा कर्जा लिएर ऋणीसँग बढीमा पाँच प्रतिशत ब्याज लिन पाउँछन् ।