हेटौंडा– बागमती प्रदेश प्रहरी कार्यालयले आर्थिक प्रलोभनमा पर्ने दुईजना प्रहरीलाई निलम्बित गरेको छ । प्रदेश प्रहरी कार्यालय हेटौंडाले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत दुईजना प्रहरीलाई निलम्बन गरेको जनाएको छ । सवारी साधनसँग रकम लिएको भन्ने उजुरीको आधारमा सोधपुछ गर्दा रकम लिएको भन्ने पृष्टी भएपछि थप छानबिनका लागि उनीहरुलाई निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
निलम्बित हुनेमा ईलाका प्रहरी कार्यालय भिमानमा कार्यरत प्रहरी हबल्दार कमल बहादुर खड्का र प्रहरी चौकी ढुंग्रेबास सिन्धुलीमा कार्यरत प्रहरी जवान बीरबहादुर प्रसाद यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले प्रहरी नायव उपरीक्षकको संयोजकत्वमा निजहरु उपर थप छानबिन गर्न समिति गठन गरेको छ । बागमती प्रदेश प्रहरी कार्यालयले हालसम्म १३ जनालाई निलम्बन गरिसकेको छ भने २५ जनालाई पुरस्कृत गरेको छ ।