पछिल्लो २४ घण्टामा थप ४६४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा ७ हजार ९२६ नमुना परीक्षण गर्दा ४६४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयाे । याे सँगै कुल संक्रमितको संख्या २२ हजार २१४ पुगेको तथा उनीहरुमध्ये ७० जनाको मृत्यु भएको तथा १५ हजार ८१४ जना निको भएकाे उहाँले जानकारी दिनुभयाे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै पर्साका १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै काठमाडौंका ८८, मोरङका ६४, बाँकेका २९, सप्तरीका २९, कैलालीका १८, बर्दियाका १५, सर्लाहीका १२, धनुषा र कास्कीका ११/११, ललितपुरका १० र बाराका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नुवाकोटका ८, रौतहटका ५, भक्तपुर, नवलपरासी र कालीकोटका ४/४ जना, झापा र तनहुँका २/२ तथा सुनसरी, सिन्धुपाल्चोक, नवलपुर, गुल्मी, स्याङ्जा, अछाम, सुर्खेत, कञ्चनपुरका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।