file-photo

मुलुकका विभिन्न स्थानमा गएको पहिरोमा परी आज थप ९ जनाको मृत्यु भएको छ । काठमाण्डौको टोखा नगरपालिका–१ पासिडाँडामा आज दिउँसो आएको पहिरोमा परी सोही ठाउँ बस्ने राजकुमार रानामगरका ३ वर्षीय जुम्ल्यहा छोरा–छोरी सचिन रानामगर र सन्ध्या रानामगरको मृत्यु भएको छ ।

यसैगरी, धादिङ, त्रिपुरा सुन्दरी गाउँपालिका–६ गोलाङपारी बनमा आज बिहान गएको पहिरोमा परी सोही ठाउँका २५ वर्षीय मिलन खाँण, २२ वर्षीया श्रीमती सम्झना खाँण र ३ वर्षीया अन्जिता खाँणको मृत्यु भएको छ ।

यस्तै, नवलपरासी–वर्दघाट सुस्ता पूर्व–बुलिङटार गाउँपालिका–२ टाँडीमा आज बिहान पहिरोमा परी सोही स्थानका ६१ वर्षीय शेर बहादुर नेपाली र उनकी श्रीमती ५७ वर्षीया खिलमाया नेपालीको मृत्यु भएको छ ।

त्यसैगरी, दार्चुला, मालिकार्जुन गाउँपालिका–८ औडाखान बस्ने ३५ वर्षीया लक्ष्मी ढोलीको घरमा हिजो दिउँसो पहिरोमा परि २४ वर्षीय अर्जुन दर्जी र मिलन दर्जीको मृत्यु भएको छ ।