देशका धेरै ठाउँमा पानी परेको छ । विशेषगरी वाग्मती प्रदेश, प्रदेश २, प्रदेश ५, गण्डकी, सुदूरपश्चिम र कर्णालीमा धेरै पानी परिरहेको छ । यस्तै आज दिउँसो वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश २ र प्रदेश १ का केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङगले जानकारी दिनुभयो ।
मनसुनी न्यूनचापीय रेखा नेपालमै रहेकाले अझै केही दिन झरी पर्ने, तर भोलि बेलुकीदेखि पानी पर्ने क्रम विस्तारै कम हुने उहाँको भनाइ छ । विशेषगरी कर्णाली प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्ने क्रम कम हुँदै जाने तर पानी पर्न भने नरोकिने उहाँले बताउनुभयो । मनसुन अझै सक्रिय हुने देखिएकाले देशका विभिन्न ठाउँमा अझै केही दिन झरीको सम्भावना रहेको तर भोलि बेलुकीदेखि तुलनात्मक रुपमा कम पानी पर्ने पूर्वानुमान गरिएको मौसमविद् प्रधानाङ्गले जानकारी दिनुभयो ।
विशेषगरी बागमती प्रदेश, प्रदेश २, प्रदेश ५, गण्डकी, सुदूरपश्चिम र कर्णालीमा धेरै पानी परिरहेको छ । गएको ६ घण्टामा रुपन्देहीको सूर्यपूरामा मात्रै ६७ दशमलव २ मिलिमिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लगातार झरी परेपछि विभिन्न नदीमा ठूलो बाढी आएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार नारायणी, तिनाउ, लालबकैया र कोशी नदीमा पानीको सतहले खतराको तह पार गरेको छ । यी नदीमा बाढी आएकाले आज नवलपरासीको सुस्ता, चितवनको सौराहा, रुपन्देही, नवलपरासी, सुनसरी र सप्तरी, गोरखा, लमजुङ, कास्कीका नदी आसपासका क्षेत्रमा बाढी र पहिरोको जोखिम बढेको महाशाखाका हाइड्रोलोजिस्ट सुनिल पोख्रेलले जानकारी दिनुभयो ।
यस्तै उपत्यकामा बागमती नदी र मनहरा खोलामा पनि बाढी आउने भएकाले आसपासका क्षेत्र जलमग्न हुने देखिएको उहाँले बताउनुभयो । निरन्तरको वर्षाका कारण नारायणी, कोसी, कर्णाली र महाकालीमा पानीको बहाव बढ्ने सम्भावना छ । कन्काई, कमला, वाग्मती, पश्चिम राप्ती, बबई, तिनाउलगायत नदीले पनि क्षति पुर्याउन सक्ने भएकाले आसपासका बासिन्दालाई सुरक्षित रहन स्थानीय प्रशासनले सचेत गराएका छन् । मेची, बिरिङ, निन्दा, बक्राहा, लोहन्द्रा, चिसाङखोला, सिंघिया, सुनसरी, बुढी, त्रियुगा, माउली, गगान, खाँडो, रातु, चुरियामाई, लालबकैया, पूर्वी राप्ती, तिनाउ, वाणगंगा, मानखोला, कान्द्रा, मोहना, खुट्टिया, स्याउलीलगायत खोलामा पनि बाढी आउने सम्भावना रहेको महाशाखाले जनाएको छ ।