मकवानपुर– मकवानपुरमा जनचेतनाका कारण असुरक्षित गर्भपतन हुने गरेको पाईएको छ । आइपास नेपालको आर्थिक सहयोगमा ओचिन्ड मकवानपुरद्धारा जिल्लामा संचालित सुरक्षित गर्भपतन सम्बन्धी दुईवर्षे परियोजना समिक्षा कार्यक्रममा यस्तो बताईएको छ ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा भएको कार्यक्रममा सुरक्षित गर्भपतन तथा सेवाका बारेमा आवश्यक जानकारी कै अभावमा असुरक्षित गर्भपतन गराउनेक्रम नरोकिएको बताईएको छ । गर्भपतनका बारेमा अझै समाजमा भ्रम विद्यमान रहेकाले महिला खुलेर सूचीकृत स्वास्थ्य संस्थामा आउन नसकेको पाईएको बताइएको छ । कार्यक्रममा ओचिण्ड मकवानपुरकी कार्यक्रम संयोजक सुप्रिमा सापकोटाले सुरक्षित गर्भपतन र सेवाका बारेमा समुदायस्तरमा अझै जानकारी प्रवाह गर्नु पर्ने पाइएकाे बताउनुभयाे । असुरक्षित गर्भपतनकै कारण नेपालमा करिब सात प्रतिशत महिलाको मृत्यु हुने गरेको वातावरण, स्वास्थ्य र जनसंख्या क्रियाकलाप अनुसन्धान केन्द्रको तथ्यांकमा उल्लेख रहेकाे उहाँले बताउनुभयाे । परिवार स्वास्थ्य महाशाखाको ०७४ को तथ्यांकअनुसार नेपालमा करिब ५८ प्रतिशत गर्भवतीले असुरक्षित गर्भपतन गराउने गरेकाे र तीमध्ये ५६ प्रतिशत विवाहित र दुई प्रतिशत अविवाहित हुने गरेकाे तथ्याङकमा पाइएकाे उहाँले जानकारी दिनुभयाे । नेपालमा बर्सेनि करिब तीन लाख २२ हजारले गर्भपतन गराउने गरेको सरकारी तथ्यांक रहेको छ ।
कार्यक्रममा संयोजक सापकोटाले मकवानपुरमा कार्यक्रमको समयावधि समाप्त भएको जानकारी दिनुभएको थियो । उहाँले अहिले जिल्लामा सुचिकृत स्वास्थ्य संस्था १८ मध्य १० वटा र निजि स्वास्थ्य क्लिनीक ३ वटामा यो सेवा प्रदान भईरहेको जानकारी दिनुभयो । समायोजनका कारण तालिम प्राप्त स्वास्थ्यकर्मीहरु अन्य जिललामा खटिएर गएका कारण १८ मध्ये १० वटा मात्र सुचिकृत संस्थामा यो सेवा हाल सुचारु रहेको बताउनुभयो । उहाँले मकवानपुरमा आर्थिक वर्ष २०७४÷०७५ मा ८८९ जनाले, आर्थिक वर्ष २०७५÷०७६ मा १ हजार ९९ जनाले र चालु आर्थिक वर्षको बैषाख सम्मा करीब एक हजार जनाले सुरक्षित गर्भपतन सेवा लिएको बताउनुभयो । सुरक्षित गर्भपतन गराउनेको दर बढ्दै जानुमा जनचेतनाको महत्वपुर्ण भुमिका हुने हुनाले सचेतनाको कार्यक्रम अझै बढी गर्न जरुरी रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख खुलालले सुरक्षित गर्भपतन तथा निःशुल्क सुरक्षित गर्भपतन सम्बन्धी उपलब्ध सेवाका बारेमा समुदायस्तरसम्म अझै बढी जानकारी प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले स्थानिय तहहरुले समेत यस विषयमा ध्यान दिनुपर्ने बताउनुभयो । मकवानपुर जिल्ला आँफैमा बिकट जिल्ला भएकाले याहाँ यस्तो खाले कार्यक्रमको आवश्यक्ता रहेको बताउनुभयो । प्रमुख खुलालले गर्भपतन सम्वन्धी समाजमा रहेका नकारात्मक धारणाहरुको परिवर्तन हुन जरुरी रहेको बताउनुभयो । गर्भपतनका बारेमा अझै समाजमा भ्रमहरु बिद्यमान रहेकाले महिलाहरु खुलेर सुचिकृत स्वास्थ्य संस्थाहरुमा आउन नसकेको उहाँको धारणा थियो । उहाँले समुदाय स्तरमा सुरक्षित गर्भपतनको बारेमा सूचना तथा जानकारीको अभाव रहेको पाईएकाले सुरक्षित गर्भपतन र सुचिकृत स्वास्थ्य संस्थामा उपलब्ध सेवाको वारेमा समुदाय स्तरसम्म जानकारी प्रवाह गर्न जनप्रतिनिधि सचेत रहनु पर्ने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिकी उपप्रमुख भगवती पुडासैनी, थाहा नगरपालिकाका मेयर लबशेर बिष्ट, समन्वय अधिकारी आनन्दराज पोखरेल, स्वास्थ्य कार्यालयका प्रमुख प्रणय उपाध्याय, हेटाैंडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पाैडेललगायतको सहभागिता थियो ।