मकवानपुर– मकवानपुरमा २०७२ सालमा गएको भुकम्पका कारण प्रभावित पुनर्निर्माण लाभग्रही मध्ये ६१ प्रतिशतले मात्र तेस्रो किस्ता प्राप्त गरेका छन् । मंगलबार भुकम्प पुनर्निर्माण जिल्ला सहजिकरण समितिको बैठकमा जिल्ला आयोजना कार्यान्वयन ईकाई प्रमुख बिमल किशोर केपीले हालसम्म ६१ प्रतिशत पुनर्निर्माण लाभग्रहीले मात्र तेस्रो किस्ता प्राप्त गरेको जानकारी दिनुभयो ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवम् जिल्ला सहजिकरण समितिका संयोजक रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकमा कार्यालय प्रमुख केपीले हालसम्मको प्रगति प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार जिल्लामा हाल सम्म ८८ प्रतिशतको मात्र सम्झौता भएको तथा १२ प्रतिशत पुनर्निमाण लाभग्राहीको सम्झौता हुनै बाँकी रहेको जानकारी दिनुभयो । जिल्लामा पहिचान भएका कुल ३४ हजार ६३६ लाभग्रही मध्ये ८८ प्रतिशतको सम्झौता भएको र सबैले पहिलो किस्ता भने प्राप्त गरेको उहाँले जानकारी दिनुभयो । जिल्लामा हालसम्म २५ हजार ७२३ अर्थात ७४ प्रतिशतले दोस्रो किस्ता र २१ हजार १६ जना अर्थात ६१ प्रतिशत लाभग्राहीले मात्र तेस्रो किस्ता प्राप्त गरेको जानकारी दिनुभयो ।
त्यस्तै प्रबलीकरण तर्फका पहिचान भएका १३ हजार २२६ लाभग्राही मध्ये हाल सम्म ७३ प्रतिशत अर्थात ९ हजार ६६ जनासंग सम्झौता भएको र २७ प्रतिशत अर्थात ३ हजार ५३८ जनाको सम्झौता हुन बाँकी रहेको प्रमुख केपीले जानकारी दिनुभयो । प्रबलीकरण तर्फका सबैले पहिलो किस्ता प्राप्त गरेको तर दोस्रो किस्ता प्राप्त गर्ने हाल सम्म ६६ जना अर्थात शुन्य दशमलव ५० प्रतिशत मात्र रहेको उहाँले बताउनुभयो । जिल्लाका १० पालिका मध्ये हेटौंडा उपमहानगरपालिकामा ८१ प्रतिशत, थाहा नगरपालिकामा ९१ प्रतिशत, ईन्द्रसरोवर गाउँपालिकामा ८९, कैलाशमा ८८, बकैयामा ९३, बागमतीमा ९३, भीमफेदीमा ८५, मकवानपुरगढीमा ९०, मनहरीमा ८१ र राक्सिराङ गाउँपालिकामा सबै भन्दा बढी ९६ प्रतिशत प्रगति भएको जानकारी दिनुभयो ।
त्यस्तै मंगलबारको बैठकले छुट तथा पुनजाँचबाट लाभग्राही कायम भएका १५६ जनालाई पहिलो किस्ता निकासा गर्ने निर्णय गरेको छ । बैठकले जाखिमयुक्त बस्ती, परिवार, भुमहिीन लाभग्राही तथा पुराना लाभग्राहीहरुको निर्णय गरेको प्रमुख केपीले जानकारी दिनुभयो । त्यस्तै जिल्लमा प्रविधिक पुग्नु अघि निर्माण भएका घर मध्ये १५५ जना लाभग्राहीको अनुदान रकम निकासा गर्ने निर्णय निर्णय गरेको उहाँले जानकारी दिनुभयो । साथै प्रमुख बिमल केपीले जोखिम युक्त बस्ती, परिवार, भुमीहीन लाभग्राहीको हकमा छुट तथा पुर्नजाँचबाट लाभग्राही कायम भएका पुराना लाभग्राहीहरुले समेत अनुदान पाउने हुनाले असार मसान्त सम्म सम्झौता गर्न आग्रह गर्नुभएको छ । उहाँले स्थानीय तहहरुलाई त्यस्ता लाभग्रहीको सम्झौता गरेर जिल्ला अनुदान कार्यालयमा असार मसान्त सम्म पठाउन आग्रह गर्नुभयो ।
२२ भुमिहिन लाभग्राहीको जग्गा खरिद प्रकृया अगाडी बढाउने निर्णय
बैठकले भुकम्पका कारण पुर्ण क्षतिमा परेर पनि आफ्नो नाममा जग्गा नहुँदा अनुदान सम्झौता हुन नसकेका थप २२ जना भुमिहिन लाभग्राहीको जग्गा खरिको प्रकृया अगाडी बढाउने निर्णय समेत गरेको छ । यस अघि ४१ जना लाभग्राहीको जग्गा खरिद भईसकेको र मंगलबारेको भुकम्प पुनर्निर्माण जिल्ला सहजीकरण समितिको बैठकले थप २२ जनाको जग्गा खरिद प्रकृया अगाडी बढाउने निर्णय गरेको हो ।
लाभग्राही मध्ये मनहरी गाउँपालिकामा १६ जनाको सामुहिक रुपमा, मनहरीकै ३ जनाको व्यक्तिगत, हेटौंडा–६ चौघडामा २ जना र एक जना भीमफेदीका लाभग्राहीको जग्गा खरिद प्रकृया अगाडी बढाउने निर्णय गरेको जिल्ला सहजीकरण समितिका संयोजक खुलालले जानकारी दिनुभयो । जिल्लामा पहिचान भएका त्यस्ता भुमिहीन लाभग्राही ९० जना मध्ये ४१ जनाको यस अघि नै जग्गा खरिद भईसकेको र २२ जनाको मैगलबारको बैठकले निर्णय गरेको उहाँले जानकारी दिनुभयो । बाँकी भने सम्पर्कमै नाआएको उहाँले बताउनुभयो ।
त्यस्तै मंगलबार बसेको बैठकले २७२ जना लाभग्राहीको साविकमै बसोबास कायम गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । जिल्लामा ऐलानी जग्गा लगाययत समस्याका कारण अनुदान लिनबाट बञ्चितहरु २७२ जनाको साविककै स्थानमा बसोबास कायम गर्ने निर्णय गरेको हो । यस अघि जिल्लाका ४ हजार ९१६ जनाको साविककै स्थानमा बसोबास कायम गरेर अनुदान सम्झौता गरिनुका साथै अनुदान समेत पाईसकेको छन् ।
बैठकमा जिल्ला समन्वय समिति मकवानपुरककी उपप्रमुख भगवती पुडासैनी, प्रमुख जिलला अधिकारी दिपकराज नेपाल, डिभिजन बन कार्यालय मनहरीका प्रमुख, नापी कार्यालय, मालपोत कार्यालयका प्रमुख एव्म प्रतिनिधिलगायतको सहभागिता थियो ।