file photo

वायु प्रदूषण फेरि बढ्न थालेको छ । पानी नपर्दा र डढेलोको घटना बढेकाले प्रदूषण पनि बढेको हो । यस्तै, गाडीबाट निस्किएको धुवाँका कारण पनि वातावरण प्रदूषित भएको छ ।
हावाको गुणस्तर मापन सूचकाङ्क एक्यूआईका अनुसार अहिले ललितपुर पाटनको एक्यूआई १७६, काठमाण्डौ कीर्तिपुरको १६३, रत्नपार्कको १६३, नारायणीको १७१ र धनकुटाको १५५ रहेको छ ।
एक्यूआई शून्यदेखि ५० सम्मको मानकलाई सामान्य अवस्था मानिन्छ । एक्यूआई एक सय ५० भन्दा माथि जानुलाई हानिकारक मानिन्छ । पाटन, कीर्तिपुर, रत्नपार्क, नारायणी र धनकुटाको एक्यूआई एक सय ५० भन्दा माथि छ ।
स्वास्थ्यलाई नै हानि गर्ने खालको प्रदूषण बढेकाले घर बाहिर निस्कँदा मास्क लगाउन स्वास्थ्यविज्ञहरुको सुझाव छ । प्रदूषणकै कारण काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा बिहानदेखि तुवाँलो लागेको मौसमविद् गोविन्द झाले बताउनुभयो । उहाँका अनुसार तत्काल पानी पर्ने सम्भावना नरहेकाले प्रदूषण अझै बढ्ने अनुमान छ ।
यस्तै, भक्तपुर, मध्यपुर थिमि र वीरेन्द्रनगरको हावा पनि जोखिममा रहेका वर्गका लागि अस्वस्थकर देखिएको छ । यी क्षेत्रको एक्यूआई एक सय ५० भन्दा कम छ । यस्तो हावामा दीर्घरोगी, बालबालिका र ज्येष्ठ नागरिकलाई जोखिम हुन्छ ।