मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको आयोजनामा भोलीबाट हेटौंडामा सुरु हुन लागेको दोस्रो जिल्ला स्तरिय अन्तरपालिका फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । जिसस मकवानपुरको आयोजना एवम् जिल्ला खेलकुद विकास समितको व्यवस्थापनमा भोली (चैत ४ गते) बाट चैत्र ११ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जिसस मकवानपुरका प्रमुख ललित बहादुर घलानले बताउनुभयो ।
हेटौंडा–५, पिप्लेस्थित क्याम्पा रंगशालामा हुने प्रतियोगितामा जिल्लाका १० वटै स्थानीय तहको सहागिता रहेने उहाँले बताउनुभयो । प्रतियोगिताका लागि चौर व्यवस्थापनलगायतका काम सम्पन्न भएको उहाँले बताउनुभयो । खेलकुदको विकास तथा खेलाडि उत्पादन गर्ने उदेश्यका साथ जिल्ला समन्वय समितिले प्रतियोगिता आयोजना गरेको उहाँले बताउनुभयो ।
प्रतियोगिताको उद्घाटन खेलमा भोली (चैत ४ गते) शनिबार दिउँसो २ बजे कैलाश गाउँपालिका र भीमफेदी गाउँपालिकाबीच प्रतिस्पर्धा हुनेछ । आइतबार हेटौंडा उपमहानगरपालिका र बकैया गाउँपालिकाबीच र राक्सिराङ गाउँपालिका र थाहा नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको सेमिफाइनल खेल चैत ८ गते र चैत ९ गते हुनेछ भने फाइनल खेल चैत ११ गते हुनेछ । प्रतियोगितामा निशुल्क प्रवेश गराइने जनाएको छ । प्रतियोगिताको विजेता टिमले नगद २ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । यस्तै उपविजेताले नगद १ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछ । पहिलो संस्करणको अन्तरपालिका पुरुष फुटबलको उपाधि थाहा नगरपालिकाले जितेको थियो ।