मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले यही चैत ८ गते विश्वासको मत लिने हुनुभएको छ । प्रदेशसभामा मुख्यमन्त्रीलाई विश्वासको मत दिएर सरकारमा सहभागि भएको राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछी मुख्यमन्त्री जम्मकट्टेलले प्रदेशसभा मार्फत विश्वासको मत लिन लाग्नु भएको हो ।
मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिने व्यवस्थापन गर्नका लागि प्रदेश सभा सचिवालयले बुधबार दिउँसो ३ बजेका लागि बैठक बोलाएको प्रदेश सभा सचिवालयले जनाएको छ । यसअघि नेकपा एमाले, नेकपा माओबादी केन्द्र, नेपाली कांग्रेस, राप्रपा, एकिकृत समाजबादी, हाम्रो नेपाली पार्टी लगायतका दलका सांसदले मुख्यमन्त्रीलाई विस्वासको मत दिएका थिए । तर, केही हप्ताअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारमा सहभागी भएका आफ्ना ३ जना मन्त्रीलाई फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । त्सपछि वर्तमान सरकार अल्पमतमा परेको थियो ।
गत पुस २६ गते बागमती प्रदेशमा मन्त्रिपरिषद गठन हुँदा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाको संयुक्त गठबन्धन बनेको थियो । कुनै दलले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको एक महिना भित्रमा प्रदेशसभाबाट बिस्वासको मत लिनुपर्ने कानूनी व्यवस्था अनुसार उहाँले विश्वासको मत लिन लाग्नु भएको हो । तर, यस पटक नेकपा एमालेले मुख्यमन्त्री जम्मकट्टेललाइ बिस्वासको मत नदिने संकेत गरेको छ ।