शहीद स्मारक ए डिभिजन लिगमा साविक विजेता मछिन्द्र र चर्च ब्वाइज युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । च्यासल मैदानमा शुक्रबार भएको ए डिभिजन च्याम्पियन मछिन्द्र र बी डिभिजन च्याम्पियन चर्च ब्वाइजबीचको भिडन्तमा दुवै टोलीले गोल गर्न सकेनन् ।
खेलमा दुवै टोलीले गोलका केही अवसर पाए पनि सदुपयोग गर्न सकेनन् । ४२ औं मिनेटमा मछिन्द्रका पुजन उपरकोटीले रातो कार्ड पाएपछि १० खेलाडीमा समेटियो । चर्च ब्वाइजका जोसेपलाई फाउल गरेपछि रेफ्री नविन्द्र महर्जनले पुजनलाई सिधै रातो कार्ड देखाएका थिए । मछिन्द्रले दोस्रो हाफमा दश खेलाडी रहेर खेले पनि चर्च ब्वाइजले गोल गर्न सकेन । जारी लिगमा चर्च ब्वाइज र मछिन्द्र दुवैको यो दोस्रो बराबरी हो । चर्च ब्वाइजले ५ खेलबाट ११ अंक र मछिन्द्रले ५ खेलबाट ५ अंक जोडेका छन् ।