हेटाैंडा । आज फागुन पूर्णिमा (हाेली) पर्व पहाडी र हिमाली क्षेत्रमा हर्षोल्लासका साथ धुमधाम रूपले मनाइँदै छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवम् सामाजिक एकताको पर्वका रुपमा फागु पर्व मनाउने प्रचलन छ । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ ।
होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ । केही वर्षदेखि रङको पर्व होली सभ्य बन्दै गएको छ । केही वर्षअघिसम्म एक हप्ता अघिदेखि नै लोला हान्ने प्रवृत्ति थियो । तर, केही वर्षयता फागु पर्वलाई अनुशासित भएर मनाउने गरिएको पाइन्छ ।
फागु पर्वको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीका साथै राजनीतिक दलका शीर्ष नेताहरुले शुभकामना दिनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले फागु पूर्णिमाको अवसरमा शुभकामना दिँदै पर्वले विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिहरूलाई निर्मूल गर्दै मौलिक संस्कृतिहरूको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गर्ने बताउनुभएको छ ।
यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभित्र प्रत्येक जातजाति र धर्मावलम्बीहरुका आ–आफ्नै सांस्कृतिक महत्त्व बोकेका मौलिक परम्परा र पर्व रहेको भन्दै यस्ता मौलिक परम्परा, संस्कृति र पर्वहरूले सामाजिक सद्भाव, एकता र सहकार्यको आधारशिला खडा गर्नाका साथै राष्ट्रिय एकता र स्वाधीनताको प्रतिनिधित्व गर्ने उल्लेख गर्नुभएको छ । होली पर्वका अवसरमा आज सार्वजनिक बिदा दिइएको छ ।
यसैबीच, स्थानीय प्रशासन र प्रहरीले होली सभ्य तरिकाले मनाउन अनुरोध गरेको छ । होहल्ला नगरि, जाँडरक्सी तथा लागुपदार्थ नखाइ एकआपसमा रमाएर होली मनाउन प्रहरीले अनुरोध गरेको छ । यस्तै, कसैले इच्छा विपरीत रङ लगाए, लोला हाने वा फोहर पानी र विभिन्न केमिकल मिसिएको पदार्थ लगाइदिए तुरुन्त प्रहरीको १०० नम्बरमा फोन गरेर जानकारी दिन आग्रह गरिएको छ ।