मकवानपुर । हेटौंडा–९, स्थित श्रीकृष्ण आदर्श ईङलिस बोर्डिङ स्कुलमा शनिबार परिकार मेला (फुड फेस्टिवल) र विज्ञान प्रदर्शनी आयोजना भएको छ । अतिरिक्त कृयाकलाप अन्तरगत विद्यार्थीहरुको सिकाई अभिबृद्धि गर्ने उदेश्यका साथ विद्यालयले परिकार मेला (फुड फेस्टिवल) र विज्ञान प्रदर्शनी आयोजना गर्नुका साथै चित्रकला र नृत्यकला आयोजना गरेकाे हो ।

पेशा, व्यवसाय र प्रविधी शिक्षामा विद्यार्थीहरुको सिकाई अभिवृद्धीका लागि कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रिन्सिपल दुर्गा प्रसाद भट्टराईले बताउनुभयो । परिकार मेलामा विद्यार्थीहरुले बनाएका खानाका विभिन्न परिकारहरु प्रर्दशनमा राखिएको थियो । विद्यार्थीहरुले मेलामा नेपालीहरुको विभिन्न जातजातीको मौलिकता एवम् चार्डपर्व झल्कने खालका परिकारहरु तयार पारेका थिए । मेलामा तिहार स्पेशल, छठ स्पेशल, तिज स्पेशल, दशैं स्पेशल, ल्होसार स्पेशल, नेवारी खाजा स्पेशल, होली स्पेशल, मकर संक्रान्ति स्पेशल परिकारका साथै आइसक्रिम र म.म समेत राखिएको थियो ।

त्यस्तै विद्यालयमा परिकार मेलासंगै विज्ञान प्रदर्शनी र चित्रकला तथा नृत्यसमेत आयोजना गरिएको विद्यालयका प्रिन्सिपल भट्टराईले बताउनुभयो । विद्यार्थीहरुको वैज्ञानिक सोचाई, अध्ययन र अनुसन्धान गर्ने बानीको विकास गराउन विद्यालयका विद्यार्थद्धारा तयार पारिएको विज्ञान सम्बन्धी प्रदर्शनी आयोजना गरिएको हो ।


















