मकवानपुर – बागमती प्रदेशमा एक वर्षमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा एक हजार भन्दा बढी पीडित भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयले आइतबार हेटौंडामा पत्रकार सम्मेलन मार्फत नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ सार्वजनीक गर्दै यस्तो जानकारी दिएको हो ।
इन्सेकले सन् २०२२ जनवरीदेखि डिसेम्बरसम्मको मानव अधिकार अवस्थाको अनुगमन प्रतिवेदनका रूपमा तयार पारेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ सार्वजनीक गरेको हो । जस अनुसार सन २०२२ जनवरीदेखि डिसेम्बरसम्म बागमती प्रदेशमा १ हजार ४२५ जना पीडित भएको इन्सेक बागमती प्रदेशका संयोजक गणेश भण्डारीले जानकारी दिनुभयो । एक वर्षको अवधिमा प्रदेशका १३ जिल्लामा मानव अधिकार उल्लङ्घनका घटनामा राज्य पक्षबाट ३४ जना महिला र ३४१ पुरुष गरी ३७५ जना पीडित भएको जनाएको छ । यस्तै ज्यादतीका घटनामा अन्य पक्षबाट ८७७ जना महिला, १७२ जना पुरुष र १ जना यौनिक अल्पसङ्ख्यकसहित १ हजार ५० जना पीडित भएको उल्लेख गरेको छ ।
सोही अवधिमा राज्यपक्षबाट भएका मानव अधिकार उल्लङ्घन अन्तर्गत कारागारमा रहेका ४ जना महिला र ४१ पुरुष गरी ४५ जनाको स्वास्थ्य समस्या लगायत विभिन्न कारणले मृत्यु भएको संयोजक भण्डारीले जानकारी दिनुभयो । यसैगरी कुटपिटका घटनामा ४ जना, गिरफ्तारीका घटनामा ३८ जना, यातनाका घटनामा ४ जना, भेला तथा सङ्गठित हुने अधिकारमा ३० जना महिला र २४५ जना पुरुष गरी २५५ जना पीडित भएको उहाँले बताउनुभयो ।
इन्सेकको तथ्यांकअनुसार सन् २०२२ मा महिला अधिकार उल्ङ्ङ्घनका घटनामा ४३४ जना महिला पीडित भएका थिए । यस वर्ष बेचबिखनका घटनामा १३ जना, घरेलु हिंसाका घटनामा ९० जना, कथित बोक्सीको आरोपमा ३ जना, बलात्कारका घटनामा १७१ जना, बलात्कार प्रयासका घटनामा ३५ जना र यौन दुव्र्यवहारको घटनामा १७ जना महिला पीडित भएका छन् । यस्तै, बाल अधिकार उल्लङ्घनका घटनामा ४२ जना पीडित भएका छन् ।
इन्सेकको तथ्याङ्क अनुसार देशभरमा भने सन् २०२२ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा राज्यपक्षबाट ६२२ जना तथा अन्यपक्षबाट ६ हजार ७५४ जना गरी जम्मा ७ हजार ३ सय ७६ जना पीडित भए । सन् २०२१ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ६ हजार २८५ जना पीडित भएका थिए । यो तथ्याङ्क गत वर्षभन्दा यो वर्ष १ हजार ९१ जनाले बढी हो ।