सुनको मुल्य लगातार बढ्न थालेको छ । २०७८ साल फागुन २५ गते मुल्य बढेर तोलामा १ लाख ५ हजार ५ सय रुपैयाँ पुगेको सुनको मुल्य त्यसयता घटेको थियो । तर, केही दिनयता फेरि मुल्य बढेको बढ्यै छ। आज तोलामा ५ सय रुपैयाँले बढेर १ लाख ३ हजार ९ सय रुपैयाँमा पुगेको छ । मुल्य अझै बढ्न सक्ने सम्भावना रहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । उहाँका अनुसार सुनको मुल्य बढेर २०७८ साल फागनु २५ गते तोकिएको भन्दा धेरै पुग्ने अनुमान छ ।

‘अहिलेको अवस्थालाई हेर्ने हो भने अहिलेसम्मको रेकर्ड ब्रेक गर्ला जस्तो छ’, उहाँले भन्नुभयो । रुस र युक्रेन युद्ध, डलर कमजोर, अस्थितरता र लगानीको जोखिमका कारण अहिले अन्तर्राष्ट्रिय बजारमा सुनको माग र कारोबार बढेको छ । यसले गर्दा मुल्य बढेको शाक्यले बताउनुभयो । पछिल्लो समय विश्व बजारमा नै घरजग्ग्गा र शेयर बजारमा अस्थिरता आएकाले सुनमा लगानी बढेको छ । सुनमा गरिएको लगानी सुनिश्चित हुने भएकाले लगानीकर्ता सुनमा आकर्षित हुने गरेका छन् । यस्तै, बेरोजगारको सङ्ख्या बढ्न थालेकाले पनि सुनको माग र कारोबार बढ्दा मुल्य बढेको शाक्यको भनाइ छ । यस्तै, आज चाँदीको मुल्य पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।