हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ स्थित मानव सेवा आश्रमको मुख्य कार्यालयमा शनिबार एक दिने निःशुल्क स्वाथ्य शिविर सञ्चालन गरिएको छ । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको आयोजनामा शिविर भएको हो ।
प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा विश्वराज जोशीको नेतृत्वमा ६ जना विभिन्न विधाका चिकित्सकहरुद्धारा आश्रममा आश्रित १४९ जना बिरामीहरुको उपचार गरिएको छ । शिविरमा जनरल मेडिशिन, स्त्री तथा प्रसुती रोग, मृगौला रोग, छाला रोग, हाड जोर्नी रोगकोे उपचार गरी निःशुल्क औषधी वितरण गरिएको छ । अस्पतालका उपकुलपति जोशीले मानव सेवा आश्रममा रहेका बिरामीहरुको लागि हेटौंडा अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाउने प्रतिबद्धता जनाउनुभएको छ । चिकित्सकहरुको समूहमा वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टर शान्ति कुमारी जोशी, एमजीपि डाक्टर घनश्याम शाह, डाक्टर अमर मासिर, जनरल मेडिशिनका डाक्टर श्याम कुमार शाह र डाक्टर आयुषा भण्डारी रहनुभएको थियो ।