हेटौंडा । नेपाली काँग्रेस बागमती प्रदेशसभाको संसदीय दल नेता छान्न निर्वाचन हुने भएको छ । काँग्रेस बागमती प्रदेशको मङ्गलवार बसेको कार्य सम्पादन समितिको बैठकले संसदीय दलको नेता छान्न निर्वाचन गर्ने निर्णय गरेको हो ।
बैठकले काँग्रेस केन्द्रको संसदीय दलको निर्वाचनपछि प्रक्रिया सुरु गर्ने निर्णय गरेको प्रवक्ता तिलक रुवालीले जानकारी दिनुभयो । काँग्रेसको केन्द्रमा संसदीय दलको निर्वाचन बुधबार हुँदैछ । बैठकले प्रदेश संसदीय दलको नेताको निर्वाचनको लागि समिति समेत गठन गरेको छ । बागमती प्रदेश समितिका उपसभापति समेत रहेका चन्द्र महर्जनको संयोजकत्वमा उक्त समिति गठन गरेको हो । समितिको सदस्यहरूमा महामन्त्री राजु श्रेष्ठ, सहमहामन्त्री ऋषिराम घिमिरे, सदस्य गङ्गा दाहाल र सदस्य सानु श्रेष्ठ हुनु हुन्छ । उक्त समितिले सभापति शेरबहादुर देउवासँगको समन्वयमा संसदीय दलको नेता चयनका लागि निर्वाचन गराउने उहाँले बताउनुभयो । बागमती प्रदेशको संसदीय दलको नेतामा इन्द्र बानियाँ र बहादुर सिंह लामाको दाबी छ । त्यस्तै बैठकले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न भूमिका खेल्ने निर्वाचन आयोग, कर्मचारी, मतदाता, राजनीतिक दल, संचारकर्मी र सरकारलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।