हेटौंडा । बागमती प्रदेश प्रमुख यादब चन्द्र शर्मा समक्ष निर्वाचन आयोगले बागमती प्रदेशको प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम परिणाम बुझाएको छ । आज आयोगका सचिव गोकर्णमणि दुवाडीले प्रदेश प्रमुख समक्ष प्रतिवेदन पेश गर्नुभएको हो ।
आयोगले देशैभरीको प्रतिवेदन राष्ट्रपति विद्यादेवि भण्डारीलाई बुझाएसंगै अहिले सात वटा प्रदेशको प्रतिवेदन प्रदेश प्रमुखलाई बुझाउने कार्यक्रम अनुसार यहाँ पनि बुझाइएको हो । प्रतिवेदन बुझाउने कार्यक्रममा बागमती प्रदेशका कही मन्त्रीहरुको पनि उपस्थिति रहेको थियो । मंसिर ४ गते सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ नेपाली कांग्रेसले २५ सिट जितेको छ । नेकपा माओवादी केन्द्रले १४, नेकपा एमालेले १३, राप्रपा ७, नेकपा एकीकृत समाजवादी ५ सिटमा विजयी भएको छ । यस्तै हाम्रो नेपाली पार्टीले र नेपाल मजदुर किसान पार्टीले १ सिट जितेको छ । कुल ११० सदस्यीय प्रदेशसभामा प्रत्यक्षबाट ६६ र समानुपातिकबाट ४४ सांसद निर्वाचित हुने व्यवस्था छ ।