प्रकाश दाहाल/हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा पनि डेङ्गु सङ्क्रमित बढेका छन् । बिहिवार २४ घण्टामा मात्रै मकवानपुरमा १३१ जना संक्रमित भइसकेका छन् । जसमा हेटौडा उपमहानगरपालिकाका मात्र ८० जना रहेका छन् । यसैगरी मकवानपुरगढी गाउँपालिकामा ३ जना, मनहरीमा ४० जना, बकैयामा ४ जना र ठेगाना नखुलेका ४ जना फेला परेका छन् भने डेङ्गुकै कारण हेटौडा उपमहानगरपालिकामा एकजनाको मृत्युसमेत भैसकेको छ ।
अहिले हेटौडा अस्पतालमा डेङ्गुको उपचार पाउनसमेत समस्या भएको छ । डेङ्गुका बिरामीको चापका कारण हेटौडा अस्पतालको इमर्जेन्सी कक्षको एउटै बेडमा २ जनालाई राखेर समेत उपचार भैरहेको छ । हेटौडा अस्पतालमा डेङ्गुका बिरामीको चाप बढेपछि बिरामीहरू उपचारका लागि छिमेकी जिल्ला चितवन तथा काठमाडौं जान थालेका छन् । यस्तै २०७९ साउनदेखि हालसम्म हेटौडामा मात्रै १०९८ पुरुष, र ८३४ जना महिला गरी १ हजार ९३२ जना डेङ्गुको संक्रमणमा परिसकेका छन् । यसैगरी यस अवधिमा थाहा नगरपालिकामा ३७ जना, मकवानपुरगढीमा ३७ जना, बागमतीमा ३ जना, मनहरीमा ६७ जना, कैलाशमा १ जना, भीमफेदीमा १४ जना, बकैयामा १२ जना र राक्सिराङमा एकजना डेङ्गुका बिरामी फेला परेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेका अनुसार इन्द्रसरोबर गाउँपालिकामा डेङ्गुका बिरामी फेला परेका छैनन् । डेङ्गु संक्रमण निकै तीव्र गतिमा बढेपछि यसलाई प्रकोपु घोषणा गर्ने तयारी भएको छ स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडीसीडी ले डेङ्गु महामारी घोषणा गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रस्ताव समेत पेश गरेको अवस्था छ । हेटौडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामा भने विदेश उड्नुभएको छ । मेयरले उपमहानगरमा डेङ्गुको प्रकोप बढेका वेला त्यसको रोकथामलाई भन्दा मलेसिया भ्रमणलाई प्राथमिकता दिनु उचित नभएको गुनासो स्थानीय नागरिकले गरिरहेका छन् ।
मानव बस्ती व्यवस्थापनको लागि सहरी सरोकारवालाहरूको संस्था ुसिटिनेटु को नेपाल च्याप्टरको अध्यक्ष हेटौडा उपमहानगरपालिका भएको कारणले जानैपर्ने भएर गएको उपमहानगरपालिकाका १ नम्बर वडाका अध्यक्ष तथा प्रवक्ता सबिन न्यौपानेले बताए । मेयर आफैँले गर्ने भन्दा पनि सिस्टमले काम गर्ने भन्दै उहाँले डेङ्गु नियन्त्रणका लागि काम भैरहेको बताउनुभयो । नगरभित्र रहेको हेटौडा अस्पताललाई डेङ्गु परीक्षणका कीट उपलब्ध गराइरहेको पनि जानकारी पनि उहाँले दिनुभयो । उपमेयर, वडाध्यक्षहरू, नगरपालिकाका शाखाहरू सक्रिय रहेकाले मेयर नभए पनि कुनै अप्ठ्यारो नपरेको भन्दै मेयरको बचाउ गर्नुभयो ।
मलेसियाको राजधानी क्वालालाम्पुरमा हुने मानव बस्ती व्यवस्थापनको लागि सहरी सरोकारवालाहरूको संस्था ुसिटिनेटु को अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागि हुनका लागि नगर प्रमुख लामा मलेसिया पुग्नुभएको हो मेयर लामा १३५ भन्दा बढी मुलुकका नगरपालिका, गैरसरकारी संस्था निजी कम्पनी र अनुसन्धान केन्द्रहरूको साझा संस्था सिटिनेटको नवौं सभामा सहभागि समेत हुने बताइएको छ सिटिनेटको नेपाल च्याप्टरको अध्यक्ष रहेको हेटौंडा उपमहानगरपालिका सहित १६ वटा स्थानीय तह र विभिन्न संस्थाको नेतृत्व गर्दै जानुपर्ने भएकाले नगरप्रमुख लामा मलेसिया जानुभएको प्रवक्ता न्यौपानेको भनाइ छ। सभा असोजको ४ गते देखि ७ गतेसम्म सञ्चालन हुने कार्यतालिका रहेको छ ।