मकवानपुर – रैथाने बाली संरक्षण र प्रबद्र्धनमा लागेको मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा कोदो संकलन तथा प्रशोधन केन्द्र संचालनमा आएको छ । गाउँमा उत्पादन हुने रैथाने बालीलाई निकै महत्व दिएर त्यसको संरक्षण र सम्बद्र्धमा लागेको मकवानपुरगढी गाउँपालिका र स्थानीय अपाङ्ग तथा विपन्न सहकारी संस्थाका लागत साझेदारीमा निर्मित कोदो संकलन तथा प्रशोधन केन्द्र संचालनमा आएको हो ।
मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ कालीखोलामा केन्द्रको गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतानले विद्युतीय घट्टको स्वीच थिचेर घट्टबाट कोदो पिसेर उद्धाटन गर्नुभयो । गाउँपालिकाले स्थानीय स्तरमा उत्पादन हुने त्यस्ता खाद्यान्नको संरक्षण र प्रवर्द्धनका लागि विभिन्न योजनाहरु ल्याएर काम गरिरहेको साथै कोदो पौष्टिक हिसाबले महत्वपूर्ण बाली भएको र यसको बजार माग क्रमशः वृद्वि हुँदै गइरहेकाले कृषकहरु कोदो उत्पादनमा लाग्नुपर्ने बताउनुभयो । उहाँले सहकारीमार्फत् कोदोको संकलन र पिठोलाई प्याकेजिङ गरी बजारीकरण गर्न गाउँपालिकाले थप सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
विगत दुई वर्षदेखि सहकारी संस्थाले कोदो संकलन गर्दै आइरहेकोमा भवन अभावका कारण व्यवस्थितरुपमा कोदो संकलन तथा विविधिकरण गर्न सकिरहेको थिएन । अब भण्डारण भवन निर्माण र पिसानी मिल स्थापनापश्चात् व्यवस्थितरुपमा कोदो संकलन, भण्डारण तथा प्रशोधन र प्याकेजिङ गरी बजारीकरण गर्न सहज हुने सहकारीका सचिव कृष्णबहादुर घलान (मुस्कान) ले बताउनुभयो ।
सहकारी संस्थाले कोदो संकलन सुरुवात गरेपछि यस भेगका कृषकहरुलाई कोदो बिक्री गर्न सहज भएकाले विगतका वर्षहरुभन्दा कोदो खेती विस्तार भएको छ । गत वर्ष वडा नम्बर ४ बाट मात्र १३ हजार ५ सय केजी कोदो संकलन गरिएकोमा यस वर्ष अन्य वडाहरुबाट समेत कोदोसँगै फापर पनि संकलन गर्ने लक्ष्य रहेको सहकारीका अध्यक्ष दिलबहादुर योञ्जनले बताउनुभयो । गाउँपालिकाले स्थानीय तहमा कोदो र फापरको मूल्य निर्धारण गर्दै आएको छ र सोही मूल्यमा सहकारी संस्थाले खरिद गर्दै आएको छ । गाउँपालिकाले सहकारीमार्फत् प्रतिकेजी ४ रुपैयाँका दरले प्रोत्साहन अनुदान उपलब्ध गराउँदै आइरहेको छ ।
सहकारी संस्थाका अध्यक्ष योञ्जनको सभाध्यक्षता र मकवानपुरगढी गाउँपालिकाका प्रमुख दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गाउँपालिकाकी उपप्रमुख मानकुमारी पाख्रिन, वडा नम्बर ४ का वडाध्यक्ष अर्जुनप्रसाद तिमल्सिना, कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरी, रुद्रबाटिका सामुदायिक स्वास्थ्य इकाइ प्रमुख लक्ष्मण दाहाल, कृषि प्राविधिक गोपाल लम्साल, सहकारी संस्थाका पदाधिकारीहरु, शेयर सदस्यहरु र कृषकहरुको उपस्थिति रहेको थियो ।