हेटौंडा । तत्कालीन नेकपा एमालेका महासचिव जननेता मदन भण्डारीको ७१ औं जन्मजयन्तीको अवसरमा मकवानपुरमा विविध कार्यक्रम गरिने भएको छ । मदन भण्डारी फाउन्डेशन मकवानपुरले भण्डारीको ७१ औं जन्मजयन्तीको अवसरमा विविध कार्यक्रम गर्ने भएको हो ।
फाउन्डेशनले एक सूचना जारी गर्दै ७१ औं जन्मजयन्तीको अवसरमा असार १२ गते हेटौंडाको बुद्धचोकमा रक्तदान कार्यक्रम,१३ गते मकवानपुर बहुमुखी क्याम्पसमा वक्तित्व कला प्रतियोगिता र १४ गते शहिद स्मारक स्थित भण्डारीको शालिकमा माल्यार्पण,हेटौंडा-९ स्थित बालउद्यान पार्कमा वृक्षारोपण तथा मैले चिनेको मदन भण्डारी लगाएतको कार्यक्रम गरिने जनाएको छ । तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको जन्म विसं २००९ असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा भएको थियो भने निधन २०५० जेठ ३ गते चितवनको दासढुंगामा भएको जीप दुर्घटनामा भएको थियो । उक्त जीप दुर्घटनामा सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको पनि निधन भएको थियो ।