मकवानपुरमा ६१ हजार ७५ जना बालबालिकालाई कोभिड–१९ विरुद्ध फाईजर खोप लगाईने भएको छ । कोभिड–१९ विरुद्ध संचालित खोप अभियानको प्रगति समिक्षा तथा फाईजर खोप अभियान संचालनबारे मंगलबार गरिएको पत्रकार भेटघाटमा जिल्लाका ५ बर्ष माथि १२ बर्षसम्मका ६१ हजार ७५ जना बालबालिकालाई खोप लगाईने जानकारी दिईएको छ ।
पत्रकार भेटघाट कार्यक्रममा स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले मकवानपुरका १० वटै पालिकामा ५ दिनसम्म सञ्चालन हुने खोप अभियानमा बालबालिकालाई सुन्तला रङ्गको फाईजर खोप लगाइने जानकारी दिनुभयाे । घिमिरेका अनुसार खोप अभियानमा मकवानपुरका विद्यालय र वडा कार्यालयहरु लक्षीत तोकिएका केन्द्रहरुमा एक सय ३ वटा स्वास्थ्य संस्थाका ३ सय ९० जना स्वास्थ्यकर्मी खटिने छन् । कोभिड–१९ विरुद्ध खोपको घोलक ०.९ प्रतिशत सोडियम क्लोराइड हो । यसबाट गम्भीर प्रकृतिका बिरामीलाई १० लाखमा एक जनालाई विभिन्न समस्या देखिने उहाँले बताउनुभयाे । फाईजर खोप ९१ प्रतिशत प्रभावकारी हुने साथै पहिलो लगाएको २१ दिनपछि दोस्रो मात्राको खोप लगाउन मिल्ने उहाँले बताउनुभयो । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख भीमसागर गुरागाईको सभाध्यक्षमा कार्यक्रम भएको हो ।