हेटौंडा – युवा नेता वोलबहादुर कार्की वौद्धिक ब्यक्तित्वको रुपमा स्थापित छन् । मकवानपुर बहुमुखी क्याम्पस र चन्द्रोदय उच्च माविमा अध्यापन गराइसकेका कार्कीलाई नेकपा एमालेले हेटौडा उपमहानगरपालिका वडा नम्वर–८ को वडा अध्यक्षमा उम्मेदवार वनाएका कार्की नेकपा एमाले नगर कमिटिको सचिव । उनले सामाजीक रुपान्तरणसँग सम्बन्धीत बिषयमा भारतबाट विद्यावारिधी (पिएचडी) गरिरहेका छन् । ०५७ सालमा अनेरास्ववियुको प्रारम्भीक कमिटिका सदस्यबाट विद्यार्थी राजनीति शुरु गरेका कार्की जिल्ला सचिव हुदै केन्द्रीय सदस्य भए । उनै कार्कीसँग अब हेउनपा वडा नम्वर ८ कस्तो वन्छ ? कस्ता योजनाहरु ल्याएका छन् भनेर गरिएको कुराकानी:
तपाईले हेटौंडाको वडा नम्वर ८ लाई कस्तो वडा वनाउने सपना देख्नु देख्नु भएको छ ?
मैले हाम्रो वडालाई एउटा सवल र समृद्ध भएको हेर्न चाहान्छु । अझ सवै बिषयमा स्मार्ट वनेको देख्न चाहान्छु । नगरमा एउटा नमुना वडा वनाउने सपना देखेको छु । सवै अभिभाबकले आफ्ना वालवालिकालाई सामुदायिक विद्यालयमा पढाउन प्रतिस्पर्धा गरेको गर्नुपरोस् । आर्थिक अभाबका कारण एकजना वालवालिका शिक्षाको ज्योतीबाट वञ्चित हुनु नपरोस् । आधारभुत स्वास्थ्य उपचारको लागि हेटौडा बजार धाउन नपरोस् । प्रत्येक घरमा स्वच्छ र शुद्ध खानेपानीको वितरण होस् ।
पैदलयात्रुले बाटोमा निशुल्क रुपमा शुद्ध पानी पिउन पाओस् । ठाउ ठाउमा सफा शौचालयको होस् । सवै टोलमा ब्यवस्थीत ढल सहितको पक्की सडकले छोएको होस् । कुनै सडक अध्यारो नहोस् । हरेक सडकको दाँयावाया थरी थरीका रुखविरुवाले ढाकिएको होस् । सडकमा फोहोर फाल्ने आट कसैले नगरोस, वरु सडकमा देखिएको फोहोर उठाएर नजिककै डस्विनमा हाल्न प्रेरित गरोस् । टोल टोलमा वाल मैत्री खेल मैदान होस् । ब्यवस्थीत पुस्तकालय र बुवाआमाहरु वतचित बिशेष थलो होस् ।
सडक गाडी हुनेहरुको लागि मात्रै होइन, पैदल यात्रु र साइकल चलाउने र शारीरिक अशक्तको लागि पनि वनोस् । थकाई लगेको वेला आराम गर्ने प्रतिक्षालय थलो होस् । हामीले प्रविधी प्रयोग गरी सेवाहरु घरमै डेलिभरी गर्ने अवस्था होस् । साधारण कामका लागि पनि घण्टौ खर्चेर वडा धाउन कोही नपरोस् । भुमिहीन र सुकुम्वासीलाई लालपुर्जा र वसोवास मिलाउन सकियोस । कसैले कुनै प्रकारको बिभेद भोग्न नपरोस् । वेरोजगार युवा होइन कि सीपयुक्त युवाले भरिएको होस् ।
अहिले सबैको चासो शिक्षामै छ । तपाईले शिक्षा क्षेत्रमा के गर्ने योजना छ ?
हाम्रो वडाभित्र उच्च मावि र प्राथमिक विद्यालयहरु छन् । उच्च र प्राथमिक विद्यालयको शैक्षिक गुणस्तरमा ठुलो लगानी हुन्छ । गुणस्तरीय शिक्षाको लागि गर्नुपर्ने सवै भुमिकाहरु निर्वाह गर्छु । विद्यालय पूर्वाधार सुधारसगै, खानेपानी तथा शौचालय व्यवस्था, शिक्षण सिकाईमा सूचना प्रविधिको उपयोग गर्न इन्टरनेट तथा कम्प्यूटर ल्यावको व्यवस्था, लाइव्रेरी सुविधा, खेलकुद मैदानको स्तरोन्नतीका साथै विद्यालयको परिसरलाई हराभरा र सुन्दर बनाउछु ।
प्रत्येक प्राथमिक विद्यालयमा साना नानीहरूका लागि खेलकुद सामाग्री समेत जडान गर्नुको साथै शिशु कक्षालाई ब्यवस्थीत गर्छु । विद्यालयसंग वडा कार्यक्रमको व्यवस्था गरी प्रत्येक महिना एक विद्यालयसंग साक्षात्कार गरी शैक्षिक सुधारको प्रक्रियालाई व्यवस्थित र दिगो बनाउछु । दलित समुदाय, गरिब रेखामुनीका सबै घरधुरी, हरेक सामुदायिक विद्यालयका उत्कृष्ट ५ लाई ड्रेस, कपी तथा कलम निःशुल्क उपलव्ध गराउछु । आर्थिक अभाबको कारण पढ्नबाट कोही वन्चित हुनुपर्ने छैन । यसको जिम्मेवारी वडाले लिछ । अबको युवापुस्तालाई थप ज्ञान बृद्धिको लागि १७ वटै टोलमा पुस्तकालय स्थापना गर्छु ।
वडावासीहरु स्वास्थ्यको क्षेत्रमा के के गर्ने योजना छ ?
हाम्रो पहिलो उद्देश्य भनेको सानातिना चेकजाचको लागि बजार धाउन नपरोस भन्ने नै ।स्वास्थ्य संस्थाका लागि आवश्यक उपकरण तथा औजारहरू उपलव्ध गराइने छ । निःशुल्क रूपमा उपलव्ध हुने औषधिहरू वडाकै स्वास्थ्य संस्थामा उपलब्ध हुन्छ । समय समयमा विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षणको लागि शिविरको व्यवस्था मिलाइने छ । निशुल्क स्वास्थ्य वीमाबाट बन्चित जेष्ठ नागरिक विपन्न र अपाङ्गता भएका व्यक्तिहरूलाई बीमा सुविधामा आवद्ध गरिने छ । ७० वर्ष माथिका बृद्ध बृद्धाको निशुल्क स्वास्थ्य परिक्षण घरघरमै गरिनेछ । स्वास्थ्य विमाको सेवा घर घरमा पु¥याइनेछ । महिला स्वयंसेविकाहरूको उच्च सम्मान साथ अधिकतम परिचालन गरी स्थानीय स्तरमा नै स्वास्थ्य सम्बन्धी सेवा तथा सल्लाह प्रवाह गरिने छ । वडामा एम्बुलेन्सको व्यवस्था गरिने छ । सवै गर्भवतीको वडामानै नियमित गर्भ जाँच गर्ने व्यवस्था मिलाइने छ । वडा र स्थानीय टोल वस्तीबाट सुत्केरी अवस्थामा सहयोग उपलव्ध हुने व्यवस्था मिलाइने छ ।
अहिले कृषि उत्पादन निकै चुनौती वनेर आएको छ । युवाहरुलाई कृषिमा आर्कषण गर्न जरुरी छ । तपाई कृषि क्षेत्रलाई कसरी ब्यवसाहिक वनाउनुहुन्छ ?
वडालाई कृषिमा आत्मनिर्भर वनाउछु । कुखुरा–अण्डा उत्पादनलाई थप सुरक्षीत वनाइनेछ । वडामा सवैभन्दा ठुलो लगानी नै कुखुरा अण्डा उत्पादनमा भएको देख्छु । कृषकलाई सहुलियतपूर्वक आधुनिक कृषि यन्त्र उपकरण, ज्ञान र प्रविधि हस्तान्तरण गर्ने व्यवस्था मिलाइने छ । व्यवसायिकरूपमा कृषि तथा पशुपालन गर्नेहरूलाई व्यवसायिक परामर्श, सहुलियत ऋण तथा परामर्श प्रदान गरी निरन्तर सहयोग प्रदान गरिने छ ।
कृषि उत्पादन हाटबजारको व्यवस्था गरी कृषक र उत्पादकहरू प्रत्यक्ष लाभान्वित हुने व्यवस्था मिलाइने छ । कृषि जमिन वैङ्क स्थापनाका गरी व्यावसायिक कृषिमा लगानी गर्नेका लागि भाडामा सहजीकरण तथा सहुलियत उपलव्ध गराइने छ । जोसग जग्गा छैन, तर कृषि उद्यम गर्ने योजना छ भने उनीहरुलाई लिजमा जग्गा उपलब्ध गराउनेछु । करेसावारीमा अर्गानिक कृषिका लागि तरकारी तथा फलफूलका वीउ, वेर्ना निशुल्क उपलव्ध गराइनेछ । हरेक घरमा लोकल जातका कुखुरा, खसी/वाख्रा पाल्न खोर निर्माणमा सहुलियत अनुदान उपलव्ध गराइनेछ । कृषि तथा उद्यम वजार आवश्यकता अनुसार सञ्चालन गरिनेछ । उत्कृष्ट कृषक सम्मान कार्यक्रम ल्याइनेछ ।
अहिलेको युवापुस्ता रोजगार नपाएर युवा पुस्ता काम गर्न नै वाहिरा जान बाध्य छन् । वडामा रोजगारको लागि के गर्नु हुन्छ ?
मेरो भाई कतार छ । मेरो वहिनी ज्वाई कोरियामा काम गरिराख्नुभएको छ । मेरा सहपाठीहरु यहाँ भेटिदैन । कुनै न कुनै देशमा पसिना वगाइरहेका छन् । जव चाडपर्व आउछ, तव हाम्रो मन अमिलो हुन्छ । आमावुवा सधै भाईवहिनीकै यादमा डुबिराख्नुहुन्छ । यो अहिले हाम्रो परिवारको मात्रै कथा होइन । हरेक घरको कथा वनेको छ । कोही पनि वुवाआमा आफ्ना छोराछोरी बाहिर गएको हेर्न चाहादैन । बैदेशिक रोजगारी हाम्रो लागि बाध्यता वनिसकेको छ । वैदेशिक रोजगारीलाई पुर्ण रुपमा रोक्छु भन्ने कुरा सुहाउने होइन । तर वैदेशिक रोजगारीमा गएर केही सीप र पुजी भएका फर्कनेलाई भने यहा नै पुर्नस्थापना गर्न सकिन्छ ।
हाम्रो वडा देशकै ठुलो औद्योगिक क्षेत्रसँग जोडिएको छ । यहा भएका उद्योगले चाहिने जनशक्ति पाएको छैन । यता काम नपाएर युवाहरु भने देश छोडनु पर्ने यस्तो विरोधभाष पुर्ण अवस्था छ । हामी वडा कार्यालयमा एउटा सीप वैंक राख्नेछौं । विदेशमा कसले के सीप सिकेर फर्केको छ, त्यसको पुर्ण विवरण राख्छौं । अर्को तर्फ उद्योगले कस्तो जनशक्ति खोजेको हो ? त्यो जनशक्ति उत्पादन गर्न बिभिन्न तालिम केन्द्रसग समन्वय हुन्छ । हामी उद्योगसग समन्वय गर्छौ । सीपयुक्त जनशक्ति पाउने भएपछि उचित तलव दिई उद्योगले पक्कै अवसर दिन्छ । वेरोजगार युवाहरुको पहिचान गरी इच्छा बमोजिम सीप तालिम दिइनेछ । यसको लागि सीप बिकास तामिल केन्द्रसग नियमीत सहजीकरण र समन्वय हुनेछ ।
अहिले वडालाई सिहदरवार भनिन्छ । संबिधानले नै वडालाई धेरै जिम्मेवारी सुम्पिदिएको छ । वडाको सेवा प्रवाहलाई कसरी ब्यवस्थीत वनाउनुहुन्छ ?
वडा कार्यालयको भवनलाई सेवागाही मैत्री हुने गरी पुर्नसंरचना गर्छु । वडामा कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई सार्वभौम नागरिकको रूपमा आत्मसम्मान हुने गरी सेवा प्रवाह गर्ने व्यवस्था मिलाइने छ । सबै आधारभूत सेवा १ घण्टा भित्र उपलव्ध गराइने छ । सेवाग्राही प्रतिक्षालय, सेवाग्राहीलाई पानी तथा शौचालय जस्ता आधारभूत सुविधा उपलव्ध गराउछु । कुन काम गर्न के कस्तो प्रक्रिया अवलम्बन गर्नु पर्ने हुन्छ भन्ने सम्बन्धमा डिजिटल नागरिक बडापत्रबाट जानकारी हुने व्यवस्था मिलाइने छ । कुन कामका लागि के कस्तो कागजात चाहिन्छ भन्ने बारे सेवाग्राहीलाई जानकारीका लागि सहायता कक्षको व्यवस्था मिलाइने छ ।
स्थानीय टोल समितिलाई वडाको सेवा प्रवाहका बारेमा जानकारी प्रवाहका लागि परिचालन गरिने छ । वडाबाट प्रवाह हुने सेवाका लागि भर्नु पर्ने फारम, निवेदन आदिका लागि कार्यालय परिसरमा नै निशुल्क सहयोगको प्रवन्ध मिलाइने छ । स्थानीय टोल विकास समितिलाई सक्रिय वनाइनेछ । वडाअध्यक्षसँग नागरिकको सहजै पहुँच हुने ब्यवस्था मिलाइनेछ । कुनै पनि गुनासो, सिकायत र उजुरी गर्ने सुन्ने र तत्काल फछ्यौट गर्ने प्रणालीको व्यवस्था गरिने छ । नगरपालिकासंग वडालाई अनलाइन प्रणालीबाट जोडी कर, नक्सापास, योजना सम्झौता लगायतका कामका नगरपालिका गइरहनु नपर्ने गरी सेवा व्यवस्थापन गरिने छ । प्रत्येक वडासदस्यलाई वडाको निश्चित कलष्टरको सम्पर्कका लागि जिम्मेवारी प्रदान गरी घरदैलोमा नै प्रतिनिधि आइपुग्ने व्यवस्था मिलाइने छ । स्थानीय ससाना विवादहरू व्यवस्थापनका लागि मध्यस्थकर्ता समितिहरूलाई परिचालन गरी स्थानीय समस्या स्थानीय स्तरमा नै समाधान गरी समामाजिक सुसम्बन्ध मजबुत बनाइने छ ।
सधै वडावासीको बिकास निर्माण योजना छनोटमा गुनासो हुन्छ । तपाई कसरी योजना छनोटलाई ब्यवस्थीत गर्नुहुन्छ ?
वडाका विकास आयोजना वस्तीटोलस्तरबाट परामर्श गरी आवश्यकता र प्राथमिकताका आधारमा स्थानीयको रायसल्लाह बमोजिम तर्जुमा गर्छु । विकास आयोजनाको कार्यान्वयन, रेखदेख, अनुगमनमा लाभग्राही स्थानीय समुदायको प्रत्यक्ष संलग्नता र रेखदेखमा सम्पादन हुन्छ । स्थानीय लाभग्राहीको आम भेलाबाट खुला छलफलद्वारा उपभोक्ता समिति गठन गर्छु ।
तपाईले वडामा देख्नुभएको प्रमुख दुई समस्या के हो ?
मैले देखेको सबैभन्दा ठुलो समस्या भनेको चुरेबाट आउने खहरे कटान र भुमिहीनहरुको समस्या हो । हामीले कर्राखोला तथा सिमसार क्षेत्र संरक्षण गर्नुपर्छ । चुरे क्षेत्रबाट आउने खहरेको दाँयाँ ब्यापक वाँस, सिमल, जामुन, अमला रोपण कार्यक्रम सञ्चालन गर्नुपर्छ । चुरेबाट आउने खहरेबाट हुने जोखिमस्थानमा तटवन्धन गर्नुपर्छ । वडामा भएका भुमिहनि र सुकुम्वासीलाई लालपुर्जा उपलब्ध गराउन अधिकत्तम पहलकदमी हुन्छ । सुकुम्वासीको स्थायी वसोवासको लागि पहल गरिनेछ । उनीहरुको आधारभुत आवश्यकता प्रदान गर्छु ।
अन्त्यमा थप केही भन्नुहुन्छ ?
मसग एउटा सक्षम, अनुभबी र उर्जाशील टिम छ । म एउटा किसान परिवारमा आएको हु । किसानले सधै अरुलाई सेवा नै गर्ने हो । त्यही भएर मलाई एकरत्ती शासक पर्ने रहर छैन, सकेसम्म जनताको सेवक वन्ने हो । एउटा सामाजिक अभियान्तको नाताले सामाजिक जागरण र बिकासका अभियान्ता वन्ने अधिकतम प्रयास गर्ने हो । युवा भएकोले कामको ज्यादै भोक छ । दिनरात मिहेनत गरेर वडालाई सुशासनमा नमुना वनाउने हो । कसैलाई भ्रष्टाचार गरेको भनेर प्रश्न उठाउने दिइने छैन । मैरो कामसग पछि आउनेको भविश्य जोडिएको छ । त्यही भएर म जे गर्छु, वडावासीको सुख र सम्बृद्धिको लागि गर्नेछु ।
संघीयता, समृद्धि र समाजवादको आधारशीला निर्माणमा वडावासी सबल, हाम्रो समृद्ध वडा भन्ने सोचका साथ म अगाडि बढिरहेको छ । हाम्रो पार्टी अगाडि बढिरहेको छ । यस अभियानमा सफलताका लागि सदा झै तपाईहरुो पुर्ण साथ र समर्थन रहने कुरामा हामी पुर्णरुपले विश्वस्त छौं । वडाबासीलाई सही नेतृत्व छनोट गर्ने अवसर छ । यस अवसरको अधिकतम सदुपयोग गर्दै नेकपा एमालेको तर्फबाट हेटौंडा उपमहानगरपालिकाको लागि नगर प्रमुख (मेयर)का उम्मेदवार संबिधान सभाका सदस्य अदरणीय नेता अनन्त पौडेल र उपप्रमुख (उपमेयर) सुमित्रा काफ्ले सहित हामी वडा अध्यक्ष र वडा सदस्यलाई जिताउन सुर्य चिन्हमा मतदान गर्न वाडीबासी समक्ष अपिल गर्दछु ।