मकवानपुर – मकवानपुरमा शुक्रबार थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७५ जनाको कोरोना परीक्षण गर्दा २५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
स्वास्थ्य कार्यालय मकवानपुरको प्रतिवेदनअनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ११ जनाको परीक्षण गर्दा ९ जना र एन्टिजेन विधिबाट ६४ जनाको परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा हालसम्म कोरोना संक्रमित हुने संख्या १५ हजार ८८० पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमणमुक्त भएसंगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या १५ हजार ३४१ प्ुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमितमध्ये ४ जना संस्थागत आइसोलेसनमा र २९८ जना होम आइसोलेसनमा उपचाररत रहेको कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालय मकवानपुरकोे प्रमुखमा गुरागाई

यसैबीच स्वास्थ्य कार्यालय मकवानपुरको प्रमुखमा भीमसागर गुरागाई नियुक्त हुनुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गुरागाईलाई स्वास्थ्य कार्यालयको निमित्त प्रमुखको जिम्मेवारी दिएको हो ।
शुक्रबार निमित्त कार्यालय प्रमुख गुरागाईलाई कर्मचारीले स्वागत गर्दै पदस्थापन गराएका छन् । थाइल्याण्डबाट पब्लिक हेल्थमा स्नात्तकोत्तर उत्तीर्ण गुरागाई जनस्वास्थ्य अधिकृत (सातौं तह) हुनुहुन्छ । यसअघिका कार्यालय प्रमुख प्रणय उपाध्यायको अनिवार्य अवकाश भएपछि कार्यालय प्रमुखको पद रिक्त रहेको थियो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!