काठमाडौँ – सहिद स्मारक लिग ए डिभिजनमा सातौँ चरणका खेल समाप्त भएका छन् । सातौँ चरणको खेल समाप्ति सँगै विन्टर च्याम्पियन बन्दै मछिन्द्रले एएफसी कपको छनोट खेल्ने भएको छ । यसका लागि मछिन्द्रले पुलिसलाई हराएको थियो ।
यसअघि मनाङ मर्स्याङ्दीले ब्रिगेड ब्वाइजलाई हराएर मछिन्द्रमाथि दबाब सिर्जना गरेको थियो । विन्टर च्याम्पियनको निर्णय भए पनि लिगको वास्तविक विजेताका लागि अझै कुर्नुपर्नेछ, तर यसमा मछिन्द्रको बाटो भने सजिलो देखिएको छ । मछिन्द्रले प्रतियोगिताको ड्र मा सुरुमै कठिन प्रतिद्वन्द्वी पाएको थियो । मछिन्द्रले अहिलेसम्म शीर्ष पाँचमा रहेका मनाङ, सङ्कटा, आर्मी र हिमालयन शेर्पाविरुद्ध खेलिसकेको छ ।
लिगमा अझै तीन टिम अपराजित छन्, मछिन्द्रसँगै सङ्कटा र आर्मी । सातौँ चरण टुङ्गिँदा पनि फ्रेन्ड्स भने एक्लो जितविहीन टिम रहेको छ । रेलिगेसन क्षेत्रमा फेरि एकपल्ट च्यासल र फ्रेन्ड्स नै रहेका छन् । पाँचौँ चरणयता यी टिम अन्तिम दुई स्थानमा छन् र रेलिगेसनबाट बच्न सङ्घर्ष गरिरहेका छन् । लिग आफ्नो मध्य भागमा आइपुग्दा अहिलेसम्म १ सय ४० पहेँलो र एक रातो कार्ड पुगेको छ । सातौँ चरणमा खालि १४ पहेँलो कार्ड देखाइएको छ र यो सात चरणमा अहिलेसम्मकै सबैभन्दा कम हो । लिगको पाँचौँ चरणमा सर्वाधिक २८ पहेँलो कार्ड देखाइएको थियो । रातो कार्ड भने अहिलेसम्म एकैमा सीमित छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!