बैतडीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । पाटनबाट सकारका लागि हिँडेको से १ ज ८८८ नम्बरको जिप पाटन नगरपालिका वडा न. १ सकार खोलामा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो । मृतक मध्ये २ जना नव विवाहित जोडी भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा पाटन ७ कैलपाल माइत भएकी २० बर्षीया मनीषा विक र उनका श्रीमान् २४ वर्षीय प्रेम चुनारा, पाटन नगरपालिका १ सकारका १३ वर्षीय विनोद भट्टराई र सोही ठाउँकी ७२ बर्षीया रमा भट्टराई रहेका छन् । उनीहरू चारै जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताउनुभयो । चुनाराको ठेगाना भने खुल्न नसकेको उहाँले बताउनुभयो । पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याउँदा चारै जनालाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।
मनीषा र प्रेम १० दिनअघि मात्रै विवाह बन्धनमा बाँधिएका बुझिन आएको छ । उनीहरू घरबाट माइती फर्कँदै गरेको प्रहरीले जनाएको छ । घाइते मध्ये ४० वर्षीय जानकारी भट्टराईको जनाको अवस्था गम्भीर रहेको छ । घाइतेलाई प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा राखिएको छ । दुर्घटना साँझ साँढे ६ बजेतिर भएको बताइएको छ । जिप ग्रामीण कच्ची सडकमा दुर्घटना भए पनि दुर्घटनाको कारण खुल्न सकेको छैन । चालक फरार रहेका र घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!