मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले शनिबार रक्तदान गर्नुभएको छ । हेटौंडा–५ स्थित भुतपुर्व सैनिक मिलन बचत तथा ऋण सहकारी संस्थाको १९ औं स्थापना दिवशका अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका खुलालले रक्तदान गर्नुभएको हो ।

नेपाल रेडक्रस सोसाइटी हेटौंडा शाखाको सहयोगमा संस्थाले आयोजना गरेको कार्यक्रममा प्रमुख खुलालले आँफै रक्तदान गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । सो अवसरमा उहाँले रगतको अभाव भईरहेको अवस्थामा संस्थाले रक्तदान कार्यक्रम गरेर सहयोग पु¥याएको बताउनुभयो । उहाँले सहकारी संस्थालगायत अन्य संघ संस्थाले यस्ता सामाजिक उत्तरदायित्व पुरा गर्न रचनात्मक कृयाकलाप गर्न सकोस भन्ने शुभकामना समेत व्यक्त गर्नुभएको थियो ।

सहकारीले स्थापना दिवशको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा प्रमुख खुलालसहित ५५ जनाले रक्तदान गरेको संस्थाका अध्यक्ष देवेन्द्र खड्काले जानकारी दिनुभयो । हेटौंडा–५ सानो पोखराचोकमा भएको रक्तदान कार्यक्रममा ६ जना महिला र ४९ जना पुरुषले रक्तदान गरेको उहाँले बताउनुभयो । कार्यक्रममा सहकारीका सचिव सुधिर थापा, भूपू सैनीक श्रीमती संघकी अध्यक्ष डोल्मा स्याङ्बोलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।