मकवानपुर – कोभिड–१९ को दोस्रो लहर फैलिएयता मकवानपुर जिल्लास्थित नियमनकारी निकायले बजार अनुगमन नगर्दा आम उपभोक्ता मारमा परेका छन् । नियमनकारी निकायले बजार अनुगमन नगर्दा व्यवसायीले कतै कम तौल, कतै म्याद गुजे्रका सामग्री बिक्री वितरण गरेको उपभोक्ताहरुले गुनासो गरेका छन् । नियमित हुनुपर्ने बजार अनुगमन अत्यन्तै कम मात्रामा हुँदा हेटौंडा बजार तथा ग्रामीण क्षेत्रका उपभोक्ता गुणस्तरहीन तथा मापदण्ड बाहिरका सामग्री प्रयोग गर्न बाध्य छन् ।
जिल्लामा बजार अनुगमन गर्न जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, उद्योग वाणिज्य संघलगायत विभिन्न उपभोक्तावादी संघ संस्था छन् । भने स्थानीय तहमा स्थानीय तह स्तरीय अनुगमन समिति छन् । तर नियमनकारी निकाय मौन बस्दा उपभोक्ता मारमा परेका छन् । यस्तै जिल्लास्तरमा उपभोक्ताका पक्षमा निरन्तर काम र वकालत नहुँदा सरकारी निकायले अनुगमन तथा कारबाहीमा पर्याप्त चासो दिएका छैनन् । जसका कारण उपभोक्ता मारमा परेका छन् ।
हेटौंडा बजारमा कतै कम तौल, कतै म्याद गुज्रेका सामग्री बिक्रीबितरण बढेको छ । एक त विरलै मात्र हुने गरेको बजार अनुगमन महामारी र निषेधाज्ञाले ठप्प छ, यस्तो अवस्थाको फाईदा उठाउँदै व्यवसायीले उपभोक्ता ठग्ने गरेको र उपभोक्ता मारमा पर्ने गरेका धेरै उदाहरण यस अघि पाईएका छन् । सामान्य त बिक्री गर्ने सामग्री सधैँ तराजुमा एकातर्फ राखी तौल लिई बिक्री गर्ने र यस क्रममा निर्धारित तौलभन्दा कम मात्रै सामग्री उपभोक्तालाई दिने गरेका छन् । भने, कतिपय प्याकिङ गरिएका सामग्री निर्धारित तौल कम भएका तथा तराजुमा समेत नियमविपरीत कम तौललाई बढी मानी बिक्री गर्ने कार्यले उपभोक्ता ठगिन बाध्य रहेको ए उपभोक्ताले नाम उल्लेख नगर्ने सर्तमा बताउनुभयो ।
खाद्य सामग्रीमा भने उपभोक्ताको स्वास्थ्यमा असर पार्ने गम्भीर कमजोरी व्यवसायीबाट भइरहेको पाइएको ती उपभोक्ताले बताउनुभयो । बजार अनुगमन नहुँदा धेरै खाद्य सामग्री म्याद गुज्रिए पनि बिक्रीका लागि राखिएको र बिक्री भइरहेको उहाँले बताउनुभयो । म्याद हेरेर खरिद गर्नेलाई त ठिकै हो तर पढ्न नसक्नेहरु यसको मारमा पर्ने गरेको उहाँले बताउनुभयो । बन्दाबन्दी र निषेधाज्ञाका कारण सहज खरिद बिक्रीको वातावरण नभएको मौकामा व्यवसायीले म्याद गुज्रिएका सामग्री बिक्री गरेको उहाँले बताउनुभयो ।
यता, व्यवसायीहरुले भने खाद्य सामग्री उपभोक्ताको माग बमोजिम ल्याउने गरिएको तर बिक्री नहुँदा फिर्ता गर्न नसकिएको, एकदमै छोटो म्याद भएका खाद्य सामग्री खरिद गरी बिक्री गर्नुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् । निषेधाज्ञामा सामग्री पाउन मुस्किल भएका बेला उपभोक्ताले पनि प्रयोगको म्यादबारे हेक्का नराख्नु र कतिपय व्यवसायीमा व्यावसायिक मर्यादा र कानुनी प्रबन्धबारे जानकारी नहुँदा बिषेश गरि ग्रामीण क्षेत्रमा यस्तो समस्या रहेको बताउनुभयो । बजार क्षेत्रका व्यवसायीले सकेसम्म यस्ता कुरामा ध्यान दिने गरेको भए पनि कतिपय अवस्थामा हेर्न नभ्याउँदा र ग्रामीण क्षेत्रमा यस्तो समस्या रहेको हुन सक्ने ती व्यवसायीले बताउनुभयो । यसक साथै उपभोक्ता ठग्ने व्यापारीलाई पहुँचका भरमा कारबाही नगरी उन्मुक्ति दिने, ठूला व्यवसायलाई छाडेर स–साना व्यवसायमा मात्र अनुगमन केन्द्रित हुँदा समेत अनुगमन प्रभावकारी बन्न नसकेकाे उहाँले बताउनुभयाे ।