मकवानपुर – मकवानपुर प्रहरीले बुधबार १२७ किलो लागूऔषध गाँजासहित दुई भारतिय नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले पूर्वपश्चिम राजमार्ग स्थित मकवानपुरको मनहरी गाउँपालिका–८ सिमपानीबाट बीआरई २८३९ नम्बरको भारतीय ट्रकमा लुकाई छिपाई ल्याएको १२७ किलो गाँजासहित दुईजना भारतिय नागरिक र एकजना नेपाली नागरिकलाई पक्राउ गरको हो ।
पक्राउ पर्नेहरुमा भारतको बैशाल बस्ने ३८ वर्षीय रामराज सहनी, भारतको समस्तिपुर बस्ने १८ वर्षीय राहुल कुमार सहनी र बिरगंज महानगरपालिका– ९ चुर्नी बस्ने ३० वर्षीय रियाजुल अंसारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ परेका उनिहरु बिरुद्ध आवश्यक अनुसन्धानका साथै कानूनी कारबाही अगाडि बढाएको मकवानपुर प्रहरीले जनाएको छ ।

यस्तै मकवानपुर प्रहरीले लागूऔषध नाईट्रोभेटसहित हेटौंडा स्थित एक रेष्टुरेन्टबाट बुधबार दुई जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका–१० स्थित एक रेष्टुरेन्टबाट १ हजार १२५ ट्याब्लेटसहित मंगलवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पक्राउ पर्नेहरुमा बाराको निजगढ नगरपालिका–१३ बस्ने १९ वर्षीय सुवास गोले र सोही ठाउँ बस्ने १९ वर्षीय सरोज थिङ रहेको प्रहरीले जनाएको छ । विशेष सूचना आधारमा प्रहरी चौकी भुटनदेवीबाट खटिएको प्रहरी टोलीले हेटौँडा–१० स्थित गेष्ट हाउसमा उनीहरुले बोकेको झोला चेकजाँच लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।