सांकेतिक तस्विर

हेटाैंडा – देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई भूभाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रहनुका साथै अधिकांश स्थानमा वर्षा भइरहेको छ । बागमती, गण्डकी, लुम्बिनी र प्रदेश–२ का विभिन्न ठाउँमा रातिदेखि नै ठूलो पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
लगातारको वर्षाका कारण नदिहरुमा बाढीको जोखि बढेको छ । मकवानपुरको चिसापानी गढी, लमजुङको रैनासटार, तनहुँको बिमल नगर, बन्दीपुर र सखर, चितवनको कालीखोला र सिलिङ्गे लगायतका वर्षा मापन केन्द्रमा भारी वर्षा मापन गरिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । ती क्षेत्रका ससाना नदी खोलाहरुमा आकस्मिक बहाव आउन सक्ने भएकाले सावधानी अपनाउन मौसमविदले आग्रह गरेका छन् । आज दिनभर नै प्रदेश–१, प्रदेश–२, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले पर्सिसम्म धेरै ठाउँमा ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन यसअघि नै आग्रह गरिसकेको छ ।