काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकारलाई बजेट र नीति कार्यक्रम ल्याउन सहज होस् भनेर मार्गप्रशस्त गरेको बताउनुभएको छ । सरकारी निवास बालुवाटारमा शुक्रबार आकस्मिक पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले आफूले विकल्प दिंदा नाटकीय ब्याख्या भएको भन्दै असन्तुष्टि जनाउनुभयो । “१४ गते सरकार बनेर १५ गते बजेट बनाउँछ ? हामीसँग समय छैन,’ उहाँले भन्नुभयो, ‘समय लिएर विश्वासको मत लिएर कर्मकाण्ड लिएर जाने सुविधा छैन । ७६९५० मै जानुपर्ने भएपछि प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नु, बाटो खोलिदिनु समयको चापले उचितमात्र होइन अपहरिहार्य भएको छ ।’
प्रधानमन्त्री ओलीले छलेर सरकार कब्जा गर्न नखोजेको बताउनुभयो । ‘सबै कुरा छाडेर सरकार परिवर्तन र प्रधानमन्त्रीलाई पदबाट हटाउने मात्रै उद्देश्य देखिएको छ । आफू सरकारमा पुग्ने इच्छा वा अस्थायी ढंगले मुलुक चलिरहेको छ जस्तो देखाउने प्रयास भएको छ,’ उहाँले भन्नुभयो, ‘संवैधानिक प्रक्रियाको चक्रबाट जानुपर्नेमा अस्वस्थ्य चक्रमा रहनुपर्ने अवस्था रह्यो । महामारीको गम्भीर समस्यालाई सामना गर्नुपर्ने र सरकारलाई केन्द्रित हुन नदिने र इन्गेज गर्ने अवस्था रह्यो ।’ अस्थिरता अन्त्य गर्न प्रतिनिधि सभा विघटन गरेर नयाँ म्यान्डेटमा जाने प्रयास गरे पनि अदालतले रोकेको स्मरण गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘अढाई महिना अविश्वासको प्रस्ताव ल्याइएन । मिलाएर सरकार चलाउँछु भन्दा विश्वासको मत पनि दिइएन ।’

Facebook Notice for EU! You need to login to view and post FB Comments!