मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले कोभिड–१९ को महामारीबाट बच्न स्वास्थ्य सुरक्षाका सम्पूर्ण जिल्लाबासीमा आव्हान गर्नुभएको छ । बिहीबार एक अपिल जारी गर्नुहुँदै प्रमुख खुलालले कोरोना भाईरस (कोभिड १९) को नयाँ भेरियन्ट मकवानपुरमा दिनप्रति दिन बढिरहेको हुँदा स्वास्थ्य सुरक्षाका मापदण्डहरु पूर्ण रुपमा पालना गर्न÷गराउन सम्पूर्ण जिल्लाबासी जनसमुदायमा बिशेष आव्हान गर्नुभएको छ ।
प्रमुख खुलालले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार तथा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रद्धारा जारी निर्देशन तथा स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पूर्ण पालना गर्न गराउन आग्रह गर्नुभएको छ । साथै उहाँले आम मकवानपुरबासीलाई अत्यावश्यक काममा मात्रै अनिवार्य मास्क लगाई मात्र घरबाहिर निस्कन अनुरोध गर्दै प्रयोग भईसकेको मास्क जथाभावी नफाली ठीक तरीकाले विसर्जन गर्न तथा समुदायमा सचेतना फैलाउने कार्यमा जुट्न र सामाजिक दुरी कायम गर्न समेत सम्पूर्ण मकवानपुरबासीलाई अनुरोध गर्नुभएको छ ।
जिल्लामा कोभिड–१९ को प्रकोप बढ्दै गएको यस विषम परिस्थितीमा सदरमुकाम हेटौंडामा यसको रोकथाम, नियन्त्रण तथा उपचारका विभिन्न तयारी भएको जनाउँनुहुँदै प्रमुख खुलालले स्थानीय स्तरमा समेत यथासक्य छिटो तत्काल उपचार आवश्यक हुने बिरामीलाई उपचार गर्न मिल्ने गरी आइसोलेसन लगायतको व्यवस्थापन गर्न स्थानीय तहलाई समेत अनुरोध गर्नुभएको छ । प्रमुख खुलालले स्थानीय तहहरुलाई आ–आफ्नो स्थानीय तहमा तत्काल उपचारको उचित प्रबन्ध मिलाउनुका साथै जनचेतना फैलाउने कार्यमा जुट्न समेत अनूरोध गर्नुभएको छ ।

File-1