मकवानपुर– हेटौँडामा भएको तेस्रो संस्करणको स्थानीय तह सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७७ को उपाधी नेपाल आर्मी क्लबले हात पारेको छ । शनिबार हेटौंडा–१० स्थित वन वित्रान अध्यन संस्थानको खेल मैदानमा भएको फाइनल खेलमा घरेलु टोली मकवानपुर–११ लाई शुन्यका बिरुद्ध एक गोल अन्तरले पाखा लगाउदै आर्मीले उपाधि कब्जा गरेको हो ।
जितसैगै नेपाल आर्मीले नगद १० लाख रुपैँया सहित रनिङ शिल र उपविजेता मकवानपुर–११ ले नगद ५ लाख रुपैँया रनिङ शिल प्राप्त गरेको छ । निकै नै प्रतिष्पर्धात्कम खेलमा आर्मीका टेक बहादुर बुढाथोकीले पहिलो हाफकोे ३९ औ मिनेटमा गरेको गोल नै खेलमा निर्णायक बन्यो । यता मकवानपुर–११ ले खेलमा पाएको थुप्रै मौका सदुपयोग गर्न नसक्दा हार बेहोर्न बाध्य भएको हो । आजको खेलमा आर्मीका टेक बहादुर बुढाथोकी म्यान अफ दी म्याच घोषित भए । उनले नगद दशहजार रुपैँया प्राप्त गरे ।
प्रतियोगितामा आयोजक मकवानपुर–११ का अमिर श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै बुलेट मोटरसाइकल प्राप्त गरे । प्रतियोगितामा आर्मीका विवश चौधरी खेलको उत्कृष्ट गोलरक्षक, दीपक गुरुङ उत्कृष्ट डिफेन्डर, सेसहाङ्ग आङदाम्बे उत्कृष्ट मिडफिल्डर र आर्मीका प्रशिक्षक नविन न्यौपाने उत्कृष्ट प्रशिक्षक र मकवानपुर–११ का रञ्जन बिष्ट उत्कृष्ट फरवार्ड घोषित हुँदै जनही नगद २५÷२५ हजार रुपैँया प्राप्त गरे । त्यसैगरी लाइफटाइम एचिवमेन्ट अवार्डबाट पुर्व खेलाडी निर्मल बल लामालाई प्रदान गरिएको छ ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगितामा दश टोलीको सहभागिता रहेको थियो । कार्यक्रममा विजेता उप–विजेतालाई एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतलगायत मकवानपुरका स्थानीय तहका प्रमुखहरुले पुरस्कार प्रदान गर्नुभएको थियो ।