मकवानपुर– मकवानपुरका १० वटै स्थानीय तहको आर्थिक सहयोगमा दश वर्ष अघिबाट हेटौंडामा प्रारम्भ भएको शहीद स्मृति गोल्डकप प्रतियोगिता फागुनको आन्तिम साताबाट सुरु हुने भएको छ । २०६२/०६३ को जनआन्दोलनका शहीदहरुको स्मृतिमा हेटौंडामा पहिलो पटक थालिएको गोल्डकपको तेश्रो संस्करण फागुन २७ बाट चैत्र ७ गतेसम्म सञ्चालन हुने आज हेटौंडामा पत्रकार सम्मेलन गरेर जानकारी दिईएको छ ।
यस अघि विभिन्न प्रायोजकहरुको नाममा सञ्चालन हुँदै आएको प्रतियोगिताका लागि यो वर्षबाट जिल्लाका १० वटै स्थानीय तहले सहयोग गरेका छन् । स्थानीय तहको सहयोगबाट प्रतियोगिता सञ्चालनको तयारी थालेको मकवानपुर फुटबल संघले यस वर्षबाट खेललाई ‘स्थानीय तह शहीद स्मृति गोल्डकप’ नामाकरण गरेको प्रतियोगिताका संयोजक प्रताप बिष्टले जानकारी दिनुभयो ।
प्रतियोगितामा विभागीय टोली सहित उपत्यकाभित्रका चर्चित ६ सहित १० टिमको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथमले १० लाख, द्वितीयले ५ लाख नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र हात पार्ने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५० हजार, विद्यागत ५ शीर्षकमा उत्कृष्टले नगद २५ हजार र प्रत्यक खेलमा म्यानअफ दी म्याचले नगद १० हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिता सञ्चालनका लागि कुल ९४ लाख ४० हजार ५ सय रुपियाँ खर्च हुने अनुमान गरेको आयोजकले जनाएको छ ।