स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक विपन्न, अशक्त, जोखिम क्षेत्रमा कार्यारत बाहेकका व्यक्तिहरुले व्यक्तिगत खर्चमा कोरोनो संक्रमणको परिक्षण तथा उपचार गर्नुपर्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा। डा गौतमले आर्थिक विपन्न, अशक्त, असाहाय, अपाङ्गता भएका व्यक्ति, एकल महिला, जेष्ठ नागरिक, अग्रपंतिमा कार्यारत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाई कर्मचारी र जोखिम क्षेत्रमा कार्यरत कर्मचारीको संक्रमणको परिक्षण तथा उपचार निशुल्क गर्ने निर्णय भएको जानकारी दिनुभयो । यी बाहेकका सबै व्यक्तिले कोरोना संक्रमणको लक्षण तथा चिन्ह देखिएमा परिक्षण वा उपचार स्वयंम व्यक्तिगत खर्चमा गर्ने गरी निर्णय भएको प्रा.डा गौतमले जानकारी दिनुभयो ।

प्रा.डा गौतमले कोरोना स्वास्थ्य विमा गरेका व्यक्तिहरुको हकमा विमा रकमबाट परिक्षण र उपचार हुने तथा भएका निर्णयहरु आजैदेखि सवै सरकारी तथा गैर सरकारी अस्पतालहरुमा लागू हुने समेत जानकारी दिनुभयो । यस्तै मन्त्रालयले कोभिड अस्पतालका फार्मेसीहरुबाट रेम्डेसिविर औषधि विक्रि वितरण सुरु गरिएको जनाएको छ । कोरोना संक्रमणको उपचारका लागि रेम्डेसिविर औषधि कोभिड अस्पतालका रुपमा सुचिकृत अस्पतालका फार्मेसीहरुबाट विक्रि वितरण गर्ने व्यवस्था मिलाईएको मन्त्रालयका प्रा.डा गौतमले जानकारी दिनुभयो । आज काठमाडौ उपत्यकामा एक हजार ६ सय ९८ सहित देशभर २ हजार ९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित प्रसे व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डा। जागेश्गर गौतमले देशका विभिन्न प्रयोगशालामा १४ हजार ८ सय ७५ जनामा रियल टाईम पिसिआर परिक्षण गर्दा २ हजार ९ सय ४२ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । यस्तै आज काठमाडौमा एक हजार ४ सय ६९, ललितपुरमा एक सय ३० र भक्तपुरमा ९९ सहित काठमाडौ उपत्यकामा एक हजार ६ सय ९८ जनामा कोरोनो संक्रमण पुष्टि भएको छ । यो सँगै हालसम्म कोरोना संक्रमण हुनेको कूल संख्या एक लाख ३२ हजार २ सय ४६ पुगेको छ । यस्तै आज थप २ हजार ३ सय २६ जना कोरोना संक्रमण मुक्त भएसँगै हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ९२ हजार एक सय ६६ पुगेको प्रा।डा गौतमले जानकारी दिनुभयो । यस्तै कोरोना संक्रमणका कारण थप १२ जनाको मृत्यु भएसँगै हालसम्म संक्रमण पछि मृत्यु हुनेको संख्या ७ सय ३९ पुगेको छ । हाल देशका ७६ जिल्लामा ३९ हजार ३ सय ४१ जना संक्रिय संक्रमित रहेका छन् । जसमध्ये गम्भिर लक्षण देखिएका ३ सय १ जनाको आई।सी।यू र ६६ जनाको भेण्टिलेटरमा उपचार भईरहेको मन्त्रालयले जनाएको छ ।