फाइल तस्विर

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लकडाउन खुल्ला भएपछि मास्क नलगाई घर बाहिर निस्कने २ लाख जनालाई कारवाही गरेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले हाल सम्म २ लाख जनालाई कारवाही गरिएको बताउनुभयो । यस अवधिमा मास्क प्रयोग नगरेका १६ हजार बटुवाहरुलाई मास्क वितरण समेत गरिएको प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले निर्धारण गरेको जनस्वास्थ्य मापदण्ड विपरीत आमसभा र सम्मेलनहरू हुने गरेको प्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको र त्यस्ता नगर्न समेत प्रवक्ता प्रा.डा. गौतमले अनुरोध गर्नुभयो । मन्त्रालयले दिएको जानकारी अनुसार आज १० हजार ७ सय ६८ वटा नमूनाको रियल टाईम पिसिआर परीक्षण गर्दा थप २ सय २४ जनामा संक्रमण पुष्टि भएको छ । आज काठमाडौका ३२, भक्तपुरका १ र ललितपुरका ५ जना गरी काठमाडौ उपत्यकाका ३८ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी, काठमाडौ उपत्यकामा संक्रमितको संख्या बढ्दै गएपछि सरकारले उपत्यका प्रवेश गर्ने नाकाबाट संकलन गरेको १० हजार भन्दा बढी नमूना मध्ये ३ हजार ७ सय १३ वटा नमूना परीक्षण भएको र २५ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता प्रा. डा. गौतमले बताउनुभयो । मन्त्रालयका प्रवक्ता प्रा.डा गौतमका अनुसार आज देशका विभिन्न आइसोलेसन सेन्टरमा ५ हजार ३ सय १६ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

यसैगरी आज थप १ सय ५१ जना संक्रमण मुक्त भएसंगै हाल सम्म कोरोना भाइरस संक्रमण मुक्त भई घर फर्किनेको कूल संख्या १४ हजार ३ सय ९९ पुगेको छ । हालसम्म ७२ दशमलव ८ प्रतिशत संक्रमित संक्रमण मुक्त भइसकेको प्रवक्ता प्रा.डा. गौतमले बताउनुभयो । आज थप ४ जनाको मृत्यु भएपछि कोरोना भाइरस संक्रमण पछि मृत्यु हुनेको कूल संख्या ५६ पुगेको छ । पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. २ का ६५ वर्षीय पुरुष, ११ का ५६ वर्षीय पुरूष, वडा नं. १६ का ३५ वर्षीय पुरुष, र विरगञ्ज महानगरपालिका वडा नं. ११ स्थायी घर भई हाल ललितपुर थसिखेल बस्ने ६५ वर्षीय महिलाको कोरोना भाइरस संक्रमण पछि मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।