मकवानपुर– बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०७७÷०७८ को बजेट बहुमतले पारित भएको छ । शुक्रबारको प्रदेशसभा बैठकले विनियोजन विधेयक र अर्थसम्बन्धी विधेयक बहुमतले पारित गरेको हो ।
बैठकमा विधेयकमाथि उठेका प्रश्नहरुको मुख्यमन्त्री डोरमणि पौडेल, भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुयाँल, सामाजिक विकास मन्त्री युवराज दुलाल, आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा र आन्तरिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जवाफ दिनुभएको थियो ।
बागमती प्रदेश सरकारले आगामी आवका लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँको बजेट पेस गरेको थियो । जुन चालु आर्थिक वर्षको भन्दा तीन अर्ब ८१ करोड ६९ लाख आठ हजार रुपैयाँ बढी हो । आगामी आवको चालुतर्फ कुल बजेटको ५१ दशमलव १२ प्रतिशत अर्थात २६ अर्ब २८ करोड ७३ लाख ३५ हजार रुपैयाँ र पुँजीगततर्फ ४८ दशमलव ८८ प्रतिशत अर्थात २५ अर्ब १४ करोड एकलाख ५९ हजार रुपैयाँ विनियोजन भएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षमा २० अर्ब ८३ करोड ७९ लाख राजस्व उठाउने अनुमान गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा करिब दुई अर्ब रुपैयाँ कम हो । अनुदानतर्फ १७ अर्ब ६६ करोड ९८ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ, भने अन्य राजस्वतर्फ ५ अर्ब १२ करोड ९७ लाख र राजस्व बचततर्फ सातअर्ब ५० करोड रुपैयाँ आम्दानीको लक्ष्य प्रदेश सरकारको रहेको छ ।