मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडा–८ कमानेमा निर्माणाधिन सामुदायिक भवनको अनुगमन गर्नुभएको छ । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको मौजदात कोषबाट निर्मित सामुदायिक भवनको मुख्यमन्त्री पौडेलले शुक्रबार स्थलगत अनुगमन गर्नुभएको हो ।

तत्कालिन जिल्ला विकास समितिबाट निर्माण सुरु भएर अधुरो रहेको उक्त भवनको जिससले करीब ६९ लाख लागतमा निर्माण सम्पन्न गरेको हो । भवनलाई प्रयोगमा ल्याउने सन्र्दभमा मुख्यमन्त्री पौडेलले शुक्रबार अनुगमन गर्नुभएको हो । मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले स्थापना गर्न लागेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको अध्यापन र कार्यालय राख्न्ने उदेश्यका साथ उक्त भवनको अनुगमन/निरिक्षण गर्नुभएको हो । हेटौंडा–८ मा ऐतिहासिक लोकतान्त्रिक पार्कमा निर्माणाधीन भवनमा अध्यापनसहित प्रष्तिठानको कार्यालय राख्ने तयारी रहेको बुझिएको छ । पार्कको ५ बिगाह ७ कठ्ठा ८ धुर क्षेत्रफलभित्र जिससको मौजदात कोषबाट पक्की भवन निर्माण भएको छ ।

कार्यालय स्थापनाको तयारी थालेको प्रदेश सरकारले आर्थिक वर्ष २०७७÷०७८ का लागि ६ करोड रुपैयाँ विनियोजन छ । आउँदो आर्थिक वर्षबाट स्वास्थ्य क्षेत्र लागि चिकित्सक उप्पादन गर्ने उद्देश्यसहित अध्यापनसहितको काम थालिने भएको छ । भवनको अवलोकनका लागि मुख्यमन्त्री पौडेलसँगै प्रदेशसभा सदस्य जुनेली श्रेष्ठ, जिल्ला समन्वय सिमित मकवानपुरका प्रमुख रघुनाथ खुलाल, सामाजिक विकास मन्त्रालयका सचिव दीपक काफ्ले, ८ नम्बर वडा अध्यक्ष गोपाल श्रेष्ठ, जिल्ला समन्वय समितिका सदस्य गणेश कुमारी प्रधानलगायत पुग्नुभएको थियो ।