मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको मौजदात कोषमा रहेको रकमबाट हालसम्म जिल्लाका विभिन्न स्थानीय तहहरुमा १० करोड ५१ लाख रुपैयाँ खर्च भएको छ । साविक जिल्ला विकास समितिमा खर्च गरेर बाँकी रहेको मौज्जात रकम मध्ये गतवर्ष र चालु आर्थिक वर्षमा स्थानियतहहरुसंगको लागत सहभागितामा विभिन्न योजनाहरु संचालनमा कोषबाट १० करोड ५१ लाख रुपैयाँ खर्च भएको हो ।
तत्कालिन जिल्ला विकास समितिमा खर्च गरेर बाँकी रहेको रकमबाट मौज्जात कोष संचालन निर्देशिका–२०७५ बमोजिक स्थानीय तहको सिफारीस बमोजिम विभिन्न योजनाहरुमा रकम खर्च गरिएको जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभयो । निर्देशिमा साविक जिविसवाट प्रारम्भ भई निर्माण कार्य अधुरो रहेको योजनाहरु, स्थानीय तहका प्रशासनिक भवन तथा मर्मत संभार, स्थानीयतहका वडा कार्यालय भवनहरु, सामुदायिक विद्यालय भवन निर्माण, प्रशुति केन्द्र, स्वास्थ चौकी, प्राथमिक स्वास्थ्य केन्द्र भवन तथा खानेपानी सम्बन्धी पुर्वाधार निर्माण सम्बन्धी योजनाहरुमा रकम खर्च गर्न मिल्ने प्रावधान रहेको छ । सोहि बमोजिम स्थानीय तह समन्वय वैठकद्धारा निर्णय गरेर जिससको वोर्ड वैठकबाट पास भए पश्चात योजनाहरु सञ्चालनका लागि रकम उपलब्ध गराईएको उहाँले जानकारी दिनुभयो ।
बोर्ड बैठकले योजनाको लगत ईष्टमिट, नक्सा, जग्गा सम्बन्धी आवश्यक डकुमेन्टका आधारमा भवन निर्माणका लागि ६० प्रतिशत र खानेपानि आयोेजनाका लागि ७५ प्रतिशत तथा बाँकी रकम स्थानीयतहले व्योहोर्ने गरि सम्झौता गर्ने गरिएको उहाँले बताउनुभयो । हालसम्म सो कोषबाट हेटौंडा उपमाहा नगरपालिका वडा नम्बर ८ मा सामुदायिक भवन निर्माणका लागि ६९ लाख, वडा नम्बर १३ को वडा कार्यालय भवन निर्माणका लागि १५ लाख, वडा नम्बर १४ मा खानेपानि आयोजना निर्माणका लागि २ करोड ५ लाख र वडा नम्बर १२ को वडा कार्यालय भवन निर्माणका लागि ५० लाख रुपैया उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै थाहा नगरपालिकाको वडा नम्बर–७ स्थित आग्रा स्थित मझुवा वृहत खानेपानी आयोजना निर्माणका लागि एक करोड ५० लाख, मकवानपुरगढीमा वृहत खानेपानी आयोजना निर्माणका लागि एक करोड ३५ लाख, भीमफेदी गाउँपालिकाको प्रशासनीक भवन निर्माणका लागि एक करोड, ईन्द्रसरोवर गाउँपालिकालाई वडा नम्बर ३, ४ र ५ को वडा कार्यालय तथा स्वास्थ कार्यालयको भवन निर्माणका लागि एक करोड, बकैया गाउँपालिकालाई बृहत खानेपानी आयोजना निर्माणका लागि एक करोड, राक्सीराङ्ग गाउँपालिकालाई छात्रावास निर्माणका लागि १ करोड र मनहरी गाउँपालिकालाई खानेपानि आयोजना निर्माणका लागि १५ लाख तथा मनहरी मोतिदेवी सभाहल निर्माणका लागि १२ लाख रुपैयाँ रकम उपलब्ध गराईएको उहाँले जानकारी दिनुभयो । कोषमा करीब २३ करोड रुपैयाँ रहेकोमा हालसम्म जिल्लाका ८ पालिकालाई कार्यविधि अनुसारको विभिन्न संरचाना निर्माणका लागि १० करोड ५१ लाख रुपैयाँ उपलब्ध गराईएको उहाँले जानकारी दिनुभयो । स्थानीय तह समन्वय बैठकबाट निर्णय भए अनुसार सबै पालिकालाई रकम उपलब्ध गराउने भनिए पनि जिल्लाको बागमती र कैलाश गाउँपालिकाले भने हालसम्म रकम नलगेको उहाँले बताउनुभयाे । साथै काेषमा रहेकाे बाँकी रकम समेत कार्यविधि अनुसार स्थानीय तहमै खर्च गरिने समेत प्रमुख खुलालले जानकारी दिनुभयाे ।