मकवानपुर– ढुंगा गिट्टी, बालुवा जिल्ला अनुगान समिति मकवानपुरले जिल्लाको राक्सिराङ गाउँपालिकामा स्थानीय अनुगमन समितिको निगरानीमा दैनिक रिपोर्टिङ गर्ने गरि मात्र नदिजन्य पदार्थको उत्खनन् गर्न दिने निर्णय गरेको छ । समितको आज बसेको बैठकले स्थानीय अनुगमन समितिको निगरानीमा दैनिक रिपोर्टिङ गर्ने गरि वातावरणिय प्रभाव मुल्याङ्कन (आईईई) स्वीकृत प्राप्त बाँकी विन्दुबाट मात्र उत्खनन् गर्न दिने निर्णय गरेको हो ।
अनुगमन समितिका संयोजक रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले अनुगमन उप समितिले बुझाएको प्रतिवेदनको आधारमा बाँकी परिमाणको पदार्थ उत्खनन् गर्न दिने निर्णय गरेको हो । उप समितिले स्थलगत अनुगमन गरेर ठेक्का व्यवस्थापन गरेको परीमाण १७,६९५४६.८९ घन फीट मध्ये ५११८१७.१५ घन फिट उत्खनन् गर्न बाँकी देखीएकोले बाँकी परिमाण उत्खनन्को लागी स्थानीय अनुगमन समितिको पुर्ण निगरानिमा दैनिक फाँटवारी अनुगमन उपसमिति मार्फत जिल्ला अनुगमन समितिमा पेश गर्ने गरि स्वीकृती प्राप्त विन्दु मध्ये उत्खनन् गर्न बाँकी रहेको मनहरी खोलाको उत्तरी विन्दुवाट मात्र उत्खनन् गर्न अनुमती दिएको प्रमुख खुलालले जानकारी दिनुभयो । यस अघि जिल्ला अनुगमन समितिले स्थानीयको बिरोध तथा गाउँपालिकाबाट प्राप्त उत्खनन् सम्बन्धी विवरण चित्त नबुझेर स्थलगत अनुगमन गरेर उत्खनन् तथा बिक्री स्थगन गरेको थियो ।
गाउँपालिकाले दिएको रिपोर्ट उपर चित्त नबुझेर अनुगमन समितिले स्थलगत अनुगमन गरेर गाउँपालिकाको उत्खनन् तथा बिक्री कार्यमा रोक लगाएर उपसमितिलाई रिपोर्ट तयार गर्न जिम्मा दिएको थियो । उपसमितिले आज बुझाएको प्रतिवेदनमा आइइइ स्वीकृत प्राप्त २८ विन्दु मध्ये १६ वटा विन्दुबाट मात्र उत्खनन् गरेको र गाउँपालिकाले दिएको विवरण भन्दा करीब १ लाख घनफिट बढी उत्खनन् भएको पाईएको उहाँले बताउनुभयो । गाउँपालिकाले करीब ११ लाख घन फिट उत्खनन् भएको विवरण पेश गरेको भए पनि उपसमितिले स्थलगत अनुगमन गर्दा करीब १२ लाख घनफिट उत्खनन् भइसकेको करीब ५ लाख घन फिट मात्र उत्खनन् गर्न बाँकि देखिएको प्रमुख खुलालले बताउनुभयो ।
गाउँपालिकाको २८ वटा विन्दु मध्ये टाढाका १२ वटा विन्दुमा कम उत्खनन् भएको पाईएकोले बाँकी परिमाणको पदार्थ वातावरणिय प्रभाव मुल्याङ्कन (आईईई) भएको उत्तरी विन्दुबाट मात्र उत्खनन् गर्न दिईने उहाँले बताउनुभयो । तर, बाँकी परिमाण उत्खनन् गर्दा स्थानीय अनुगमन समितिको पुर्ण निगरानिमा दैनिक फाँटवारी अनुगमन उप समिति मार्फत जिल्ला अनुगमन समितिमा दैनिक पेश गर्नुपर्ने उहाँले जानकारी दिनुभयो । बैठकमा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, प्रहरी उपरिक्षक सुशिल सिंह राठौंर, डिभिजन वन कार्यालय मनहरीका प्रमुख दीर्घनारायण पौडेल, डिभिजन वन कार्यालय हेटौंडाका प्रमुख ईमनाथ पौडेललगायतको उपसिथ्ती थियो ।