मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले शनिबार विभिन्न योजनाहरुको अनुगमन गर्नुभएको छ । प्रमुख खुलालले शनिबार प्रदेश सरकारको सहयोगमा हेटौंडा–९ मा सञ्चालित विभिन्न आयोजनाहरुको अनुगमन गर्नुभएको हो ।
उहाँले हेटौंडा–९ स्थित त्रिवेणीधाम स्थित प्रदेश सरकारको सहयोगमा निर्माणाधीन शवदाह स्थल, कुष्माण्ड सरोवर त्रिवेणीधाम जाने सडक, पदमपोखरी जाने सडक तथा हेटौंडा–९ मा निर्माणाधीन मदन वाटिकाको स्थलगत अनुगमन गर्नुभएको हो । कोरोनाका भाइरसका कारण जारी लकडाउनले गर्दा रोकिएका ती आयोजनाहरुको अनुगमनका क्रममा प्रमुख खुलालले विकास निर्माणका काम गर्दा स्वास्थ्य सुरक्षाको पुर्ण रुपमा ख्याल गर्न सुझाव दिनुभएको छ । उहाँले विकास निर्माणका काम रोक्न नहुने तर स्वास्थ्य सम्बन्धी सुरक्षाका उपाए भने अपनाउनु पर्ने बताउनुभयो । सो अवसरमा हेटौंडा–९ का वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले योजनाहरुको प्रगती अवस्थाका बारेमा जानकारी दिँदै स्वास्थ्य सम्बन्धी सम्पुर्ण सावधानी अपनाईएको जानकारी दिनुभएको थियो ।