मकवानपुर– ढुंगा, गिट्टी, बालुवा जिल्ला अनुगमन समितिले राक्सिराङ गाउँपालिका भित्रको नदिजन्य पदार्थको उत्खनन् तथा बिक्री कार्य बन्द गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको समितिको बैठकले गाउँपालिका क्षेत्र भित्रको नदिजन्य पदार्थको एकिन उत्खनन् विवरण तयार नभए सम्मका लागि उत्खनन् तथा बिक्री कार्य बन्द गर्ने निर्णय गरेको हो ।

शुक्रबार समितिका संयोजक एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको नेतृत्वमा गाउँपालिकाको वातावरणिय प्रभाव मुल्याङ्कन (आईईई) भएको क्षेत्रको अनुगमनका क्रममा अव्यवस्थित रुपमा उत्खनन् भएको पाईएको तथा गाउँपालिकाले विवरण समेत राखेको नपाईए पछि उत्खनन् तथा बिक्री कार्य राेक लगाईएको हो । तत्कालका लागि उत्खनन् तथा बिक्रीमा रोक लगाएर डिभिजन वन कार्यालय मनहरीका प्रमुखको नेर्तत्वमा रहेको अनुगमन उपसमिति र गाउँपालिकाको प्राविधिक समेतको संयुक्त पहलमा यकिन विवरण तयार नभए सम्मका लागि सम्पुर्ण कार्य बन्द गरिएको उहाँले बताउनुभयो ।

यसअघि विवरण भन्दा बढी तथा अनाधिकृत रुपमा नदिजन्य पदार्थको उत्खनन् भएको भन्ने स्थानीयबाट गुनासो आएपछि अनुगमन समितिले गाउँपालिकालाई पत्राचार गरि विवरण माग गरेको थियो । तर, गाउँपालिकाबाट प्राप्त विवरण चित्त बुझ्दो नभए पछि अनुगमन समितिले आज स्थालगत अनुगमन गरेको हो । अनुगमनका क्रममा पालिकाले पठाएको विवरण भन्दा बढी उत्खनन् भएको देखिए पछि तत्कालका लागि उत्खनन् तथा बिक्री कार्य रोकेको र विवरण तयार गर्न लागिएको प्रमुख खुलालले जानकारी दिनुभयो ।

त्यस्तै आजको बैठकले निषेधित क्षेत्रबाट भएको चोरी निकासी गरेर ल्याइएका सामग्री जफत गरेर जिल्ला समन्वय समितिमा कारवाहीका लागि पठाउने निर्णय गरेको छ । निषेधित क्षेत्र तथा चुरे क्षेत्रबाट चोरी निकासी गरि ल्याइएको ढुंगा, गीट्टी बालुवा हेटौंडा उपमाहानगरपालिकाले जफत गरेर आवश्यक कारवाहीका लागि जिल्ला समन्वय समितिको कार्यालयमा बुझाउने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै जिल्लाका सबै स्थानीय तहहरुमा रहेका क्रसर उद्योगहरुमा रहेका कच्चा पदार्थ तथा प्रसोधित नदिजन्य पदार्थको स्रोत तथा हाल सम्मको मौजदात विवरण माग गर्ने निर्णय गरेको छ । साथै डिभिजन वन कार्यालयबाट नदि जन्य पदार्थको व्यवस्थापनका सम्बन्धमा प्राप्त सुझावलाई स्थानीय तहमा कार्यान्वयन गर्न पत्रचार गर्ने निर्णय गरेको प्रमुख खुलालले जानकारी दिनुभयो । बैठकमा जिल्ला समन्वय समितिकी उपप्रमुख भगवती पुडासैनी, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरिक्षक शुसिल सिंह राठौर, शसस्त्र प्रहरी उपरिक्षक बिकास घिमिरे, डिभिजन वनकार्यालय हेटौंडाका प्रमुख इमनाथ पौडेल, निमित्त जिल्ला समन्वय अधिकारी भीमलाल महर्जनलगायतको उपस्थिती थियो ।