हेटाैंडा– नेपाल सरकारसंगको सहलगानिमा पोष्ट वहादुर बोगटी (भीमफेदी–कुलेखानी) सुरुङ्गमार्ग आयोजना निर्माण हुने भएकाे छ । बाग्मती प्रदेश सरकारकाे गौरवको योजनाका रूपमा राखेर निर्माण गर्न लागेको भीमफेदी–कुलेखानी सुरुङमार्गमा संघीय सरकारले बजेट मार्फत् सम्बोधन गरेको हाे ।
अर्थमन्त्री डा युवराज खतिवडीले आज सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको आव २०७७/०७८ को बजेट प्रस्तुत गर्दै प्रदेश सरकारसँगको सहकार्यमा कुलेखानी–भमफेदी सडक खण्डमा सुरुङ मार्ग निमार्णको विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न गरी निर्माण कार्य अगाडि बढाइने बताउनुभएकाे छ । संघीय सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि प्रस्तुत गरेको बजेट भाषणमा भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणलाई प्राथमिकतामा राखिएको छ । यसैवर्ष देखि निर्माणको तयारी गरिरहेको बाग्मती प्रदेश सरकारले सुरुङमार्ग निर्माणका लागि संघीय सरकारसंग सहकार्यका लागि केही दिन अघि आग्रह गरेको थियो । चार आर्थिक वर्षमा सुरुङमार्ग निर्माण गरिसक्ने लक्ष्य लिएको प्रदेश सरकारले १९ अर्ब ३२ करोड ५ लाख ७६ रुपैयाँ लाग्ने अनुमान गरेको छ ।