थप एक सय ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि, नेपालमा कुल सङ्क्रमितको सङ्ख्या एक हजार ४२ पुग्यो
ललितपुरको किष्ट अस्पतालमा उपचारका क्रममा हिजो (ज्येष्ठ १४ गते) निधन भएका ललितपुर बुङ्मतीका ५६ वर्षीय पुरुषमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि नेपालमा कोरोना सङ्क्रमण पुष्टि भई मृत्यु हुनेको सङ्ख्या ५ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित मिडिया व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले मृतक पुरुष यही ज्येष्ठ ११ गते कलेजोको समस्या भई उपचारका लागि अस्पताल भर्ना हुनुभएको जानकारी दिनुभयो ।
प्रवक्ता देवकोटाका अनुसार उहाँमा ज्येष्ठ १२ गते कोरोना सङ्क्रमण समेत पुष्टि भएको थियो । यसै गरी आज थप एक सय ५६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या एक हजार ४२ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप एक सय ५६ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
प्रवक्ता डा. देवकोटाले बिपी कोइराला क्यान्सर अस्पताल धरानमा गरिएको परीक्षणमा सप्तरीका दुई जना, कोसी अस्पतालमा झापाका २५ जना, हेटौँडा किट प्रयोगशालामा गरिएको परीक्षणमा मकवानपुरका एक जना , पोखरा प्रादेशिक प्रयोगशालामा स्याङ्जाका तीन जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
यसै गरी भेरी अस्पतालमा गरिएको परीक्षणमा बर्दियाका तीन जना र बाँकेका एक जना, सेती अस्पतालमा कैलालीका दुई र दार्चुलाका एक गरी जम्मा तीन जना, धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा रौतहटका १७ जना, सुर्खेत प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा सुर्खेतका १३ जना, दैलेखका आठ जना, बझाङका एक जना र एक जना बोल्न नसक्ने भएका कारण ठेगाना नखुलेको एक महिलासहित जम्मा २३ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले जानकारी दिनुभयो ।
यसै गरी भरतपुर अस्पतालमा गरिएको परीक्षणमा नवलपुरका एक जना, तथा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा धनुषाका २९ जना, महोत्तरीका १७ जना, सप्तरीका १२ जना, सर्लाहीका सात जना, सिराहाका छ जना, रौतहटका तीन जना, दोलखाका दुई र सोलुखुम्बुका एक जना गरी कूल ७७ जनामा सङ्क्रमण पुष्टि भएको प्रवक्ता डा.देवकोटाले जानकारी दिनुभयो ।
नेपालमा हालसम्म ५१ जिल्लाका नौ सय ४० पुरुष र एक सय दुई जना महिलामा सङ्क्रमण पुष्टि भएको छ भने हालसम्म कूल एक सय ८७ जना उपचारपछि निको भई घर फर्किएका छन् ।
हालसम्म नेपालमा कूल ६० हजार छ सय ९६ जनाको पिसीआर तथा एक लाख चार हजार छ सय ३४ जनाको आरडिटि विधिबाट परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा दुई हजार चार सय १९ जनाको पिसिआर र एक हजार सात सय ४७ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो ।